close

आईफोनमा पनि थर्ड पार्टी एपस्टोरबाट एप डाउनलोड गर्न सकिने

टेकपाना टेकपाना

फागुन ३०, २०८० १४:१७

आईफोनमा पनि थर्ड पार्टी एपस्टोरबाट एप डाउनलोड गर्न सकिने

काठमाडौं । युरोपेली संघ (ईयू)मा आवद्ध देशका आईओएस प्रयोगकर्ताले छिट्टै थर्ड पार्टी एपस्टोरबाट एप डाउनलोड गर्न पाउने भएका छन् । मङ्गलबार एक ब्लग राख्दै कम्पनीले सुरुवाती चरणमा ईयूका डेभलपरलाई एप जुनसुकै वेबसाइटमा वितरण गर्न पाउने व्यवस्था मिलाउन लागेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार डेभलपरले एप आफ्नै वा कुनै अन्य वेबसाइटबाट वितरण गर्न सक्नेछन् । तर, वेबसाइटको डोमेन भने एपस्टोर कनेक्टमा दर्ता भएको हुनुपर्छ । यसअघि एपस्टोर बाहेक अन्य प्लेटफर्मबाट एप डाउनलोड गर्न सकिने सुविधा दिइएको थिएन ।

कम्पनीले आईओएस डिभाइसमा थर्ड पार्टी प्लेटफर्मबाट एप इन्स्टल गर्न सकिने सुविधा दिएपनि केही कडा नीति ल्याएको छ । यसअन्तर्गत डेभलपरले एप्पल एप डेभलपमेन्ट इकोसिस्टमभित्रै रहेर काम गर्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार डेभलपरको वेबसाइटबाट एप इन्स्टल गर्न प्रयोगकर्ताले सेटिङबाट एप इन्स्टल गर्न दिने अनुमति दिनुपर्छ । त्यसपछि एप इन्स्टल गर्ने क्रममा सिस्टम शिटले डेभलपरको नाम, एपको नाम, एपको डिस्क्रिप्सन स्क्रिनशट र सिस्टमको एज रेटिङ देखाउनेछ ।

अहिले एन्ड्रोइड प्रयोगकर्ताले थर्ड पार्टी एपस्टोरबाट एप डाउनलोड गर्न सक्छन् । डाउनलोड भएको उक्त एप इन्स्टल गर्ने क्रममा त्यस्तो एप इन्स्टल गर्नु खतरनाक हुनसक्छ भन्ने सन्देश देखिन्छ । तर, आईओएसमा योभन्दा पनि जटिल प्रक्रिया हुने बताइएको छ ।

कम्पनीले ब्लगमा यो सबै प्रयोगकर्तालाई सुरक्षित राख्न तयार पारिएको मापदण्ड भएको उल्लेख गरेको छ । अन्य क्षेत्रमा यो फिचर कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले आधिकारिक जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८० १४:३१