close

नेपाल भाषाको रञ्जना युनिकोड फन्ट सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

चैत ३, २०८० २०:३७

नेपाल भाषाको रञ्जना युनिकोड फन्ट सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । रञ्जना युनिकोड फन्ट सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै क्यालिजात्रा फाउन्डेसनले नित्या रञ्जना फन्टको युनिकोड भर्सन सार्वजनिक गरेको हो ।  

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा छलफल भएको थियो । आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न “रञ्जना युनिकोड फन्ट” विकास गरिएको फन्ट डेभलपर एवं क्यालिजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनले बताए । 

“समग्र नेपालको पहिचान बोकेको प्रचलित भाषा, लिपि, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा, विश्वव्यापिकरण र पश्चिमेली सभ्यताको बढ्दो अवलम्बनका कारण लोपोन्मुख अवस्थामा पुगेको छ,” उनले भने, “यसै कारण ऐतिहासिक कालखण्डदेखि इण्डो आर्यन, मंगोल र भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान बोकेको रञ्जना लिपिसमेत ओझेलमा पर्दै गएको छ ।”

यो अत्यन्तै संवेदनशील विषयलाई मध्यनजर गर्दै क्यालिजात्रा फाउण्डेसनले विगतका केही समयदेखि डिजिटल संस्करणमा यो फन्ट ल्याएको बताए । 

आजको आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गरिएको उनले सुनाए ।

यो फन्ट क्यालिजात्रा फाउण्डेसन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी एक टाइपका मुख्य फन्ट डेभलपर तथागत विश्वास, शारङ्ग कुलकर्णी, नूपुर दात्ये र  आनन्द कुमार महर्जनको टोलीले विकास गरेको हो । 

रञ्जना लिपि विशेषज्ञ समेत रहेका आनन्दकुमार महर्जनले नियमित सल्लाह सुझाव, मार्गनिर्देशन, समीक्षा तथा आवश्यक स्रोत साधनहरू प्रदान गर्दै आएका थिए । यो रञ्जना युनिकोड फन्ट विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराइएको छ । र, यो देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध भएको छ । यो फन्ट प्रिन्टिङ र वेबका लागि प्रयोग गर्न सकिनेछ । 

आयोजकका अनुसार यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरू भन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको छ । त्यसैले रञ्जना लिपिलाई प्रर्वद्धन गर्न र सही रूपमा प्रयोग बढाउन सकिने आयोजकको विश्वास छ । सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने आयोजक टोलीको भनाइ छ । 

कार्यक्रममा नित्या रञ्जना लिपि समावेश भएको नेवा लिपि एपको अपडेटेड भर्सन पनि सार्वजनिक गरिएको छ । प्रयोगकर्ताले यहाँ क्लिक गरी एप डाउनलोड गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि देवनागरी किबोर्ड लेखेको बक्समा युनिकोड देवनागरी टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि तल रञ्जना लिपिको शब्द देखिन्छ । उक्त शब्दलाई फोटोका रूपमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । 

त्यस्तै यहाँ क्लिक गरी गिटहबको पेजमा गएर पनि यो फन्ट डाउनलोड गर्न सकिन्छ । यो फन्ट फोटोशप, प्रिमियर प्रो, वर्ड जहाँ पनि प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८० २०:३७