close

४ खर्ब लगानीमा फ्याक्ट्री खोल्न भारतमा जग्गा खोज्दै टेस्ला

टेकपाना टेकपाना

चैत २२, २०८० १९:४२

४ खर्ब लगानीमा फ्याक्ट्री खोल्न भारतमा जग्गा खोज्दै टेस्ला

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाले भारतमा आफ्नो नयाँ कारखाना खोल्ने भएको छ । विद्युतीय कार उत्पादनका लागि पावर प्लान्ट स्थापना गर्न आवश्यक पर्ने जग्गा खोज्न कम्पनीले यो (अप्रिल) महिनामा आफ्नो टिम भारत पठाउने तयारी गरेको फाइनान्सियल टाइम्सले जनाएको छ । 

भारतमा स्थापना हुने उक्त कारखाना तीन अर्ब डलर (४ खर्ब रुपैयाँ बढी) लागतमा तयार हुने बताइएको छ । पावर प्लान्ट स्थापनाका लागि महाराष्ट्र, गुजरात र तामिलनाडुमा जग्गा खोजी हुने फाइनान्सियल टाइम्सले लेखेको छ । यी क्षेत्रहरू अटोमोटिभ हबका रूपमा परिचित छन् ।

केही कार निर्माता कम्पनीले हरियाना राज्यमा पावर प्लान्ट स्थापना गरेका छन् । नयाँ दिल्लीको छिमेकी राज्य भएकाले टेस्ला पनि सम्भवतः त्यही क्षेत्रमा केन्द्रित हुने चर्चा छ । तर, यो विषय संवेदनशील भएकाले कम्पनीले ठाउँ तोकेको छैन । 

१९ अप्रिलदेखि १ जुनसम्म भारतमा लोकसभा निर्वाचन हुँदैछ । टेस्लाको यो कदमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दललाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । मोदीले स्थानीय उत्पादन र रोजगारीलाई बढावा दिने विश्वका चर्चित कम्पनीलाई भित्र्याउने योजना ल्याइरहेका  छन् ।

यसअघि पनि अमेरिका भ्रमणका रहेका बेला मोदीले टेस्ला मालिक एलन मस्कलाई भेटेका थिए । मस्कले सञ्चारमाध्यमसँग कुरा गर्दै भारतमा कम्पनीको पावर प्लान्ट खोल्ने सङ्केत दिएका थिए । 

ईभीमा भारतको भू-राजनीतिक प्रतिद्वन्द्वी चीनको बलियो दबदबा छ । त्यसैले देशमै ईभीजस्ता उदीयमान उद्योगलाई प्रवर्द्धन गर्न मोदीले अर्बौं डलरको सरकारी अनुदान छुट्याएका छन् । ​

टेस्लाले भारतीय अधिकारीहरूलाई प्रस्तावित नयाँ फ्याक्ट्रीमा हालको मोडलभन्दा सानो कार बनाउने विचार गरिरहेको बताएको छ । यसको मूल्य ३० हजार डलरभन्दा कम हुनेछ । त्यसपछि कम्पनीले भारतमा यो मोडेल बिक्री गर्ने र त्यसलाई दक्षिण-पूर्वी एसिया, खाडी मुलुक, अफ्रिका र दक्षिणी तथा पूर्वी युरोपमा निर्यात गर्नेछ । 

भारतबाहेक टेस्लाले आफ्नो पावर प्लान्ट मेक्सिकोमा निर्माण गर्न थालिसकेको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार यो प्लान्ट २०२६ देखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १३:४५