close

अपडेट गरेपछि सामसङ फोनमा हरियो धर्सो देखिने समस्या

टेकपाना टेकपाना

बैशाख ६, २०८१ ११:२१

अपडेट गरेपछि सामसङ फोनमा हरियो धर्सो देखिने समस्या

काठमाडौं । ​सामसङका पुराना ग्यालेक्सी मोडेलका फोनमा हरियो धर्सो (लाइन) देखिने समस्या आएको छ । पछिल्लो सफ्टवेयर अपडेट इन्स्टल गरेपछि पुराना मोडेलका ग्यालेक्सी फोनमा त्यस्तो धर्सो देखिएको प्रयोगकर्ताको गुनासो छ ।

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा र एस २१ एफई मोडेलमा यो समस्या बढी देखिएको छ । सामाजिक सञ्जाल एक्समा केही प्रयोगकर्ताले एक्कासि हरियो लाइन देखिएको भनेका छन् भने कतिपयले अपडेट गर्दा वा फोनमा हेभी काम गर्दा त्यस्तो समस्या आएको उल्लेख गरेका छन् ।

भारतका एक्स प्रयोगकर्ता (@Babu__R) ले सामसङलाई मेन्सन गर्दै आफूले ग्यालेक्सी एस २१ एफई अपडेट गर्नासाथ हरियो लाइन देखिएको बताएका छन् । 

त्यस्तै अर्का प्रयोगकर्ता (@Entroprox) ले फोन अपडेट गरिरहँदा एक्कासि हरियो लाइन देखिएको गुनासो गरेका छन् । फोन राम्रै अवस्थामा भए पनि त्यसमा हरियो लाइन देखिंदा त्यसलाई स्वीकार गर्न नसकिएको उनको भनाइ छ । ती प्रयोगकर्ताले सामसङ एस २१ अल्ट्रा प्रयोग गर्दै आएका थिए । 

फोनमा एक्कासि हरियो लाइन देखिनुको कारण यही हो भन्ने अवस्था छैन । सफ्टवेयर ग्लिजले गर्दा यस्तो समस्या आएको हुनसक्ने अनुमान छ । तर, यस्ता समस्या सामान्यतः फोन रिबुट वा फ्याक्ट्री रिसेट गरेरै हटाउन सकिन्छ । यति गर्दा पनि हरियो लाइनको समस्या नहटेका कारण हार्डवेयरमै समस्या भएको चर्चा गरिएकाे छ ।

फोनमा के गर्दा हरियो लाइन आउँछ ?

हुन त फोनमा हरियो लाइन मात्र देखिन्छ भन्ने हुँदैन । कतिपयको डिभाइसमा गुलाबी रङ्गको लाइन देखिन्छ भने कतिपयको डिभाइसमा नीलो लाइन पनि देखिएको छ । यसको सम्भावित कारण डिस्प्लेको कनेक्टर खराब भएर वा फ्लेक्स केबल खराब भएर हुनसक्छ ।

विशेषगरी फोनको भित्री भागमा हुने कम्पोनेन्टले डिस्प्लेलाई फोनको मुख्य सर्किट बोर्डसँग कनेक्ट गरेको हुन्छ । त्यही सर्किटसम्मको कनेक्सन बिग्रियो, सर्किट बिग्रियो वा कनेक्सन लुज भयो भने डिस्प्लेमा त्यस्तो समस्या देखिन्छ । 

त्यसैले सफ्टवेयर अपडेट गर्दा त्यस्तो हरियो लाइन देखिने समस्यालाई संयोग मान्न सकिन्छ । तर, एक्समा सामसङ प्रयोगकर्ताले हरियो लाइन देखिने समस्या राखेको पोस्ट खोज्ने हो भने पनि त्यसमा केही प्रयोगकर्ताले अपडेट गर्दा त्यस्तो समस्या देखिएको दाबी गरेका छण् । विशेषगरी सामसङका पुरानो मोडेलमा सफ्टवेयर अपडेट गर्दा त्यस्तो समस्या देखिएको उनीहरूको गुनासो छ ।

एन्ड्रोइड अथोरिटीका अनुसार सम्भवतः सफ्टवेयर अपडेट गर्दा त्यस्तो समस्या देखिए पनि भित्र त्यसलाई अन्य पक्षले पनि असर गरेको हुन्छ । खासगरी फोन बढी तात्तिंदा वा डिस्प्ले एसेम्बल गर्दा हार्डवेयरमा कमजोरी भए पछि फोनमा हरियो लाइन देखिने समस्या आउन सक्छ । फोन तात्तियो भने त्यसले डिस्पलेलाई अन्य कम्पोनेन्टसँग जोड्ने ग्लुलाई लुज बनाउँछ र त्यसैले गर्दा डिस्पे र कम्पोनेन्टबीच कनेक्सन लुज हुँदा हरियो लाइनको समस्या आउन सक्ने एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ । 

सामसङ मात्र नभइ पछिल्लो समय एमोडेल डिस्प्ले प्रयोग गर्ने अन्य कम्पनीको फोनमा पनि यस्तो समस्या देखिएको छ । भारतबाट वनप्लसको फोन खरिद गर्ने प्रयोगकर्ताले यस्तो समस्या सामना गर्नुपरेको भन्दै गुनासो गरेका थिए ।खासगरी भारतबाट फोन मगाएर नेपालमा प्रयोग गर्ने वन प्लसका प्रयोगकर्ता यो समस्याबाट दिक्क भएका थिए ।

नेपालमै कम्पनीले वारेन्टी समावेश नगरिदिने र फोनको वारेन्टी पाउन भारतमै जानुपर्ने अवस्था थियो । पछि त्यस्तो समस्या बढी आएपछि भारतमा वनप्लसले ब्याट्रीमा लाइफटाइम वारेन्टी दिएको थियो ।  

सामसङले भने फोनमा हरियो लाइन देखिने समस्याबारे कुनै आधिकारिक धारणा दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८१ ११:३९