close

टिकटकले भन्यो: अमेरिकाले प्रतिबन्ध लगाए अदालत जान्छौं

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १८:२४

टिकटकले भन्यो: अमेरिकाले प्रतिबन्ध लगाए अदालत जान्छौं

काठमाडौं । अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएमा अदालत जाने टिकटकले जनाएको छ । हालै पारित भएको विधेयक कानूनका रुपमा लागू भएमा अदालत जाने अमेरिकास्थित टिकटकको पब्लिक पोलिसीका प्रमुख माइकल बेकरम्यान बताएका छन् ।

"यस्तो कानून बनाउनु भनेको १७ करोड अमेरिकी प्रयोगकर्ताको अधिकारको हनन् हुनु हो," उनले भने, "यसको विरुद्ध हामी निरन्तर लडिरहन्छौं ।"

टिकटकको स्वामित्व नबेचेमा प्रतिबन्ध लगाउने कानून बनाएर अमेरिकाले नागरिकको स्वतन्त्र अभिव्यक्तिको अधिकारमाथि आघात पुर्‍याउन खोजेको टिकटकले आरोप समेत लगाएको छ ।

टिकटकको स्वामित्व आफूलाई नबेचे एपलाई प्रतिबन्ध लगाउने भन्दै अमेरिकाको प्रतिनिधि सभाले शनिबार विधेयक पारित गरेपछि अमेरिकाका कानून निर्माताले नै नागरिकको अधिकार हनन् गर्न खोजेको टिकटकले आरोप लगाएको हो ।

टिकटकले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ, "सुरक्षाको नाममा प्रतिनिधि सभाले विधेयक पारित गरेर १७० मिलियन अमेरिकीहरूको स्वतन्त्र अभिव्यक्तिको अधिकारलाई कुल्चिन खोजिरहेको छ ।"

टिकटकमार्फत चीनले अमेरिकामाथि निगरानी गरिरहेको आशंका गर्दै वर्षदिनभित्र अभिभावक कम्पनी बाइटडान्सलाई टिकटकको स्वामित्व अमेरिकालाई बेच्न दबाब दिन विधेयक पारित गरिएको हो ।

सभाका ३६० सांसदले टिकटक प्रतिबन्ध लगाउने पक्षमा र ५८ जनाले विपक्षमा मतदान गरी विधेयक पारित गरी सिनेटमा पठाएका छन् । विधेयकमा चिनियाँ कम्पनी बाइटडान्सलाई कम्पनीको स्वामित्व बेच्न ९ महिनाको समय दिइएको छ ।

अमेरिकाका रिपब्लिकन्स र डेमोक्रेट्स दुबैले टिकटकको कारण राष्ट्रिय सुरक्षामा गम्भीर असर पुग्ने भन्दै विरोध गरेका थिए । बेइजिङले टिकटकमार्फत् अमेरिकी प्रयोगकर्ताहरूमाथि जासुसी गरिरहेको र सार्वजनिक बहसलाई नै तोडमाेड गरिरहेको आरोप उनीहरुले लगाएका छन् । तर टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई शेयर नगरेको दावी गर्दै आइरहेको छ ।

अमेरिकन सिभिल लिबर्टीज युनियन र कोलम्बिया युनिभर्सिटीको नाइट फर्स्ट एमेन्डमेन्ट इन्स्टिच्युटलगायत नागरिक स्वतन्त्रता संगठनहरूले पनि नागरिकको स्वतन्त्र अभिव्यक्तिको अधिकारमा आघात पुग्ने भन्दै विधेयकको विरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १९:०