close

विदेशी लगानी स्वीकृत गर्न ‘अटोमेटिक रुट’ लागू, आईटी उद्योगका लागि न्यूनतम सीमा नहुने

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १८:२

विदेशी लगानी स्वीकृत गर्न ‘अटोमेटिक रुट’ लागू, आईटी उद्योगका लागि न्यूनतम सीमा नहुने

काठमाडौं । सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट)बाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था लागू गरेको छ । राजधानीमा आयोजित लगानी सम्मेलनको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा भएको व्यवस्था अनुसार यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । 

यस प्रणालीमार्फत कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृत हुने बताइएको छ । सूचना प्रविधिमा आधारित उद्योगहरूका लागि भने विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन ।

यसै प्रक्रियामार्फत कम्पनीसमेत दर्ता गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट साेमवारदेखि नै आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र ईमेल मार्फत आवेदन दिने वित्तिकै प्राप्त गर्ने सक्ने र सोही आधारमा कम्पनी दर्ता गर्नसक्ने उद्याेग विभागले जनाएकाे छ । 

स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण हुने बताइएकाे छ ।

विदेशी लगानी स्वीकृति सम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनको लागि विभागले imis.doind.gov.np नामकाे विद्युतीय प्रणाली सञ्चालनमा ल्याएकाे छ । 

याे प्रणालीमा गएर लगइन गरी त्यहाँ माग गरे बमोजिमको विवरण तथा कागजात प्रविष्ट गर्नु पर्नेछ । विदेशी लगानी स्वीकृतिको लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरेपछि त्यस्तो लगानी स्वीकृतिको लागि विद्युतीय प्रणालीमा पेश गर्नुभन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनु पर्ने भएमा सच्याउन सकिने छ । 

प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकता अनुसार सच्याएपछि विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश गर्न सक्नेछ । 

विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बर सहितको निजको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइनेछ ।

त्यस्तो जानकारीको अतिरिक्त भएको पत्र विभागको विद्युतीय प्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ । विदेशी लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा नियमावली बमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिने उद्योग विभागको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ ८:५५