काठमाडौं । केही दिनअघि एकाएक युट्युबबाट लाइक बटन गायब भयो । विश्वभर प्रभाव परेपनि आंशिक प्रयोगकर्ताले यो समस्या धेरै भाेगेका थिए । त्यसबेला लाइक काउन्ट भएको देखिए पनि 'थम्स अप' बटन गायब भएको थियो । त्यसो हुँदा प्रयोगकर्ताले युट्युबमा ‘लाइक’ गर्न पाइरहेका थिएनन् ।
युट्युबमा अपलोड हुने हरेक भिडिओको ठीक तल लाइक. डिसलाइक जस्ता विकल्प हुन्छन् । भिडिओमाथि आफ्नो प्रतिक्रिया जनाउन ती महत्त्वपूर्ण विकल्प हुन् । तर युट्युबले डिसलाइकको गन्ती सार्वजनिक गर्न भने केही वर्ष पहिले नै बन्द गरिसकेको छ ।
त्यस्तोमा लाइक बटन पनि हराउनुले विभिन्न आशंका गरिएको थियो । तर उक्त समस्या एउटा बग भएको र अहिले समाधान भइसकेको युट्युबले बताएको छ ।
युट्युबमा लाइक बटन गायब, स्रोत: नाइट टु फाइभ गुगल
युट्युबको सपोर्ट पेजमा एक जानकारी राख्दै युट्युबले उक्त बटनले काम नगरेको बताएको छ । त्यस्तै उक्त समस्या वेबमा मात्र भएको र मोबाइल एपमा नभएको जनाएको छ । यसका साथै यो समस्या समाधान भइसकेको पनि बताएको छ ।
यद्यपि युट्युबमा लाइक बटन हराएको यो पहिलो घटना भने होइन । केही महिना यही प्रकारको समस्या भएको केही रेडिट प्रयोगकर्ताहरूले बताएका थिए ।