close

एलन मस्कको सपनाः मङ्गलपछि अरुण ग्रहमा पुग्ने

टेकपाना टेकपाना

जेठ २८, २०८१ १७:४८

एलन मस्कको सपनाः मङ्गलपछि अरुण ग्रहमा पुग्ने

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आफ्नो सपना अरुण ग्रहमा पुग्ने रहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा सोमबार एक पोस्ट राख्दै मस्कले आफ्नो सपना अरुण ग्रहसम्म पुग्ने रहेको उल्लेख गरेका छन् ।

डज डिजाइन नामक एक्स ह्यान्डलमा सोमबार एक भिडिओ शेयर भएको थियो । सो भिडिओमा मस्कले भनेका छन्, “हामीलाई पक्कै पनि त्यस्तो रकेट चाहिन्छ, जो अरुण ग्रहसम्म पुग्न सक्छ ।  यो युरेनस (अरुण ग्रह) पुग्ने लक्ष्य हो । तर पक्कै पनि हामीले लक्ष्य राख्नुपर्छ ।”

उक्त पोस्ट पुनः पोस्ट गर्दै मस्कले आफ्नो सपना अरुण ग्रह पुग्ने उल्लेख गरेका हुन् । अरुण ग्रह सूर्यमण्डल अन्तर्गत सूर्यबाट सातौं स्थानमा पर्ने ग्रह हो । ग्यासको पिण्ड भएको यो ग्रह सूर्यमण्डलको तेस्रो ठूलो ग्रह हो । यसका २७ ओटा उपग्रह छन् । 

यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टिकोणले तेर्सो परेको छ। यो ग्रह हरियो रङ्गको छ । यस ग्रहलाई विलियम हर्सेलले १३ मार्च १७८१ मा पत्ता लगाएका थिए । यस ग्रहमा ८३ प्रतिशत हाइड्रोजन तत्त्व पाइन्छ र उक्त ग्रहमा सूर्य पश्चिम दिशाबाट उदाउने वैज्ञानिकको भनाइ छ ।

हालै मात्र मस्कको स्टारशिप रकेटले चौथो पटक सफलतापूर्वक परीक्षण गरेको छ । र, जुन पहिलो पटक समुन्द्रमा अवतरण भएको थियो । यसअघिका तीन ओटा परीक्षणमा रकेट अवतरणका क्रममा पड्किएका थिए । लामो समय उडान गरेर सफलतापूर्वक अवतरण गरेको यो नै पहिलो रकेट हो । 

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८१ १७:४८