close

एप्पल डिभाइसमा आउँदैछन् यी १२ एआई फिचर

टेकपाना टेकपाना

जेठ २९, २०८१ १२:२३

एप्पल डिभाइसमा आउँदैछन् यी १२ एआई फिचर

काठमाडौं । हिजो अर्थात् १० जुनदेखि एप्पलको वार्षिक डेभलपर कन्फ्रेन्स डब्लूडब्लूडीसी २०२४ सुरु भएको छ । १४ जुनसम्म चल्ने यस कार्यक्रममा एप्पलले आफ्ना विभिन्न नयाँ उत्पादनबारे जानकारी दिने छ । 

हाल सामसङ, गुगल पिक्सेल लगायतका अन्य इलेक्ट्रोनिक्स ब्रान्डले आफ्ना स्मार्टफोन लगायतका एआई टुल एकीकृत गरिसकेको छ । यसमा एप्पल पछाडि थियो । अब भने एप्पल पनि औपचारिक रूपमा एआई दौडमा सामेल हुने भएको छ ।

कार्यक्रम दौरान एप्पलले आफ्ना डिभाइसहरूमा विभिन्न एआई फिचर ल्याउने घोषणा गरेको छ । तिनलाई एकमुष्ट 'एप्पल इन्टेलिजेन्स' नाम दिइएको छ । यसअन्तर्गतका एआई फिचर आईओएस १८, आईप्याड ओएस १८, टिभी ओएस १८, वाच ओएस ११, म्याक ओएस १५ लगायतका डिभाइसमा उपलब्ध हुनेछ ।


एप्पल इन्टेलिजेन्स अन्तर्गतका आउने कतिपय एआई फिचर अन्य ब्रान्डका डिभाइसमा आइसकेका छन् । तीमध्ये आज हामी केही एआई फिचरबारे जानकारी दिने छौं:

१. सिरीमा एआई

अन्तत: एप्पलको भोइस एसिस्टेन्ट टुल सिरी स्मार्ट हुने भएको छ । अपडेटेड हुने सिरीको नयाँ भर्सनमा एप्पलले एआई एकीकृत गर्ने भएको छ । यसले गर्दा सिरीसँगको कुराकानीमा सुधार हुने र कुराकानीको विषयवस्तु बुझेर प्रतिक्रिया दिने बताइएको छ  । त्यस्तै एकै निर्देशनबाट धेरै काम गर्ने, एपसँग अन्तर्क्रिया गर्ने जस्ता जटिल काम पनि गर्न सक्नेछ । यसले गर्दा फोटो एडिट गर्ने, ईमेल लेख्ने जस्ता काम भोइस कमान्डका आधारमा नै गर्न सक्ने छ । यसका साथै सिरीले स्क्रिनमा भएका कुराकानी पनि बुझ्ने बताइएको छ । 

२. सिरीका माध्यमबाट च्याटजीपीटी प्रयोग गर्न सकिने 

एप्पलले ओपनएआईसँग सहकार्य गर्दै सिरीमा च्याटजीपीटीलाई पनि एकीकृत गर्ने भएको छ । अब आईओएस १८ सँगै बिल्ट-इन रुपमा च्याटजीपीटी उपलब्ध हुनेछ । यसो हुँदा सिरीलाई कुनै पनि काम गर्न अप्ठ्यारो भए सहयोगका लागि सिरीले च्याटजीपीटीलाई सहयोग माग्ने छ ।

त्यसपछि च्याटजीपीटीको सबै भन्दा पछिल्लो भर्सन च्याटजीपीटी फोरओले जेनेरेट गरेको प्रतिक्रिया सिरीले उपलब्ध गराउने छ । यसो गर्दा च्याटजीपीटी फोरओ चलाउन प्रयोगकर्ताले कुनै पनि शुल्क तिर्नु पर्दैन ।  यसले सिरीलाई अझ स्मार्ट बनाउने छ ।

३. नोटिफिकेसनको प्राथमिकीकरण गर्ने 

यदि तपाईं धेरै नोटिफिकेसन आएर दिक्क हुनुहुन्छ भने एप्पलले ल्याउने नयाँ एआई फिचर निकै उपयोगी हुन सक्छ । किनकि अब नोटिफिकेसनको प्राथमिकीकरण गर्न एआई प्रयोग हुनेछ । त्यसपछि तपाईंलाई अत्यावश्यक पर्ने नोटिफिकेसन मात्र सबैभन्दा अगाडि देखिने छ । यसका साथै नोटिफिकेसनको सारांश समेत गर्ने क्षमता सो एआई फिचरले राख्ने गर्छ । 

४. एप्पल मेलमा सारांश

अब एप्पल डिभाइसमा ईमेल पढ्न पनि सजिलो हुने भएको छ । किनकि एप्पल मेलमा आउने मेलहरूको सारांश गर्न एप्पलले एआई टुल प्रयोग गर्नेछ । त्यसो हुँदा ईमेलको अगाडिका पङ्क्तिहरू देखाउनुको सट्टा अब पुरै मेलको सारांश देखिने छ ।

त्यस्तै अब मेलहरूको प्राथमिककरण गर्न पनि एआई प्रयोग हुने छ । त्यसो हुँदा इन्बक्सको सबैभन्दा माथि तपाईंलाई अत्यावश्यक पर्ने मेल देखिने छन् ।


५. लेखन सुधार गर्न एआई 

यदि तपाईं मेल अथवा अलि लामो आकारको लेखहरू लेखिरहनुहुन्छ भने एप्पलको नयाँ एआई फिचर उपयोगी हुने छ । किनकि लेखन सुधार गर्न एप्पलले एआई प्रयोग गर्ने भएको छ । त्यसो हुँदा मेल लेख्न होस् अथवा कुनै पनि लेख रचना लेख्न, एप्पल डिभाइसमा एआईले सहयोग गर्ने छ । 

६. उत्तर दिन सल्लाह/सुझाव

यदि तपाईंलाई कुनै पनि मेलको उत्तर के दिने भनेर समस्या छ भने अब त्यो समस्याको हल पनि एआईले गरिदिने भएको छ । आएका मेसेज अथवा मेलहरूको आधारमा एआईले नै सम्भावित उत्तरहरू तयार पारिदिने छ । त्यसो हुँदा तपाईंले के उत्तर फर्काउने होला भनेर सोचिरहनु पर्दैन । 

७. तस्वीर बनाउने 

एप्पल डिभाइसमा आउन लागेको अर्को आकर्षक एआई फिचर हो, इमेज जेनेरेटर । अब तपाईंले आफ्नो प्रम्ट (लिखित निर्देशन) मार्फत चाहेको जस्तो एआई जेनेरेट तस्वीर बनाउन सक्नहुन्छ । यसका लागि 'इमेज प्ले ग्राउन्ड' र 'ईमेल वान्ड' नामक दुई एआई टुल उपलब्ध हुने छन् । 

इमेज प्लेग्राउन्डमार्फत वास्तविक कुनै फोटोलाई आधार बनाएर नयाँ तस्वीर बनाउन तथा प्रम्प्टमार्फत तस्वीर बनाउन सकिन्छ । ईमेल वान्डमार्फत भने तपाईंले नोट्स एप मार्फत बनाउनु भएको स्केचका आधारमा एआई तस्वीर बनाउन सक्नुहुने छ ।


८. कस्टम इमोजी 

कहिलेकाहीँ खोजेकै जस्तो इमोजी पाउनु गाह्रो काम हुन जान्छ । अब भने यो समस्याको समाधानका लागि एप्पलले एआई फिचर प्रयोग गर्ने भएको छ । ‘जेनमोजी’ नामक टुलमार्फत अब चाहेको जस्तो इमोजी बनाउन सकिने भएको छ ।

यस टुलमार्फत इमोजी बनाउन प्रयोगकर्ताले प्रम्प्टको सहायता लिन सक्नेछन् । त्यसपछि सोही विवरणका आधारमा नयाँ इमोजी तयार हुने छ ।

९. भिडिओ मेमोरी

फोटोज् एपमा उपलब्ध ‘मेमोरिज्’ फिचर निकै उपयोगी छ । यस फिचरले तपाईंले विगतमा पुर्‍याइदिन सक्छ । अहिले यस एपले थिम, समय, स्थान आदिलाई आधार मानेर विभिन्न फोटोहरूलाई जोडेर आफैं स्लाइड शो बनाइदिने गर्छ ।

अब आईओएस १८ सँगै भने तपाईंले प्रम्टका आधारमा भिडिओ मेमोरी बनाउन सक्नुहुन्छ । अर्थात् अब स्लाइड शो नभएर तपाईंले आफ्नो फोटोहरूमार्फत नै मुभी जस्तै भिडिओ बनाउन सक्नुहुने छ । यसका लागि आईफोन आफैंले फोटो छान्ने, सुहाउँदो सङ्गीत भर्ने काम गर्छ ।

१०. फोटो सम्पादनमा एआई 

गुगल पिक्सेल ८ र ८ प्रोमा गुगलले फोटो एडिट गर्न एआई एकीकृत गरिएको कुरालाई निकै प्रचार गरेको थियो । अब सोही प्रकारको फिचर आईफोनमा पनि आउने भएको छ । यसर्थ ब्याकग्राउन्ड रिमुभ गर्न, फोटोको गुणस्तर सुधार गर्न एआई प्रयोग हुनेछ ।

११ भोइस ट्रान्सक्रिप्सन 

आवाज रेकर्ड गर्न एप्पलमा ‘भोइस मेमो’ एप पाइन्छ । अहिलेसम्म यस एपले आवाज मात्र रेकर्ड गर्ने गरेको छ । अब भने आवाज मात्र नभएर ट्रान्सक्रिप्ट पनि उपलब्ध हुने भएको छ । यसका लागि एप्पलले एआई प्रयोग गर्नेछ ।

यसो हुँदा कुराकानीलाई शब्दमा उतार्न निकै सजिलो हुने अपेक्षा गर्न सकिन्छ । तर सुरुमा यो फिचर केही भाषामा मात्र सीमित हुनेछ ।

१२. इन्टेलिजेन्स सर्च

फोटो तथा भिडिओमा भएको कुनै पनि भाग ट्रयाक गर्नु निकै अप्ठ्यारो काम हो । अब सोही कुरालाई समाधान गर्न एप्पलले एआई फिचर प्रयोग गर्ने भएको छ । ‘इन्टेलिजेन्स सर्च’ नाम दिइएको यो फिचरका माध्यमबाट फोटोहरूमा भएका कुनै पनि विशेष भाग खोज्न सजिलो हुनेछ । जस्तो; धेरै फोटोहरूमा भएका साझा कुराहरू यस फिचरमार्फत ट्रयाक गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८१ १२:५०