close

स्याटलाइट म्यापका लागि गुगल अर्थ बाहेक अरू केके छन् विकल्प ?

टेकपाना टेकपाना

असार २, २०८१ ९:४१

स्याटलाइट म्यापका लागि गुगल अर्थ बाहेक अरू केके छन् विकल्प ?

काठमाडौं । पृथ्वीबारे जान्नु आफ्नै पनि थाहा पाउनु हो । भूगोलका विद्यार्थीलाई मात्र होइन, जोकोहीलाई पनि पृथ्वीबारे जिज्ञासा हुन्छ । यसका लागि नक्सा बनाइन्छ । पहिले पहिले नक्साका किताब पाइन्थे । आजभोलि नक्साका डिजिटल भर्सनहरू पाइने गर्छन् । तीमध्ये एक हो गुगल अर्थ ।

हजारौं डेटा सेट, स्याटलाइट तस्वीर र नक्साहरूबाट बनाइएको गुगल अर्थ वास्तवमै निकै अन्तर्क्रियात्मक छ । निकै रुचाइएको यो एपमा पृथ्वीको कुनै पनि भाग विभिन्न तरिकाले हेर्न सकिन्छ । जसबाट विभिन्न सूचना पाउन सकिन्छ । यसका साथै यसमा भएको स्याटलाइट भ्यू. स्ट्रिट भ्यू. मेजर डिस्ट्यान्स लगायतका फिचर निकै उपयोगी छन् । 

तर पृथ्वीबारे जानकारी दिन गुगल म्याप्स मात्रै छैन । अन्य विभिन्न कम्पनीहरूले यस प्रकारका एप्लिकेसन बनाएका छन् । आज हामी तीमध्ये केहीको चर्चा गर्ने छौं:

१. नासा वर्ल्ड भ्यू 

गुगल म्याप्समा पृथ्वीको प्रत्यक्ष भ्यू हेर्न पाइँदैन । यसमा वर्षौंको डेटा राखिएर विगतको पृथ्वी देखाइएको हुन्छ ।

तर नासा वर्ल्ड भ्यूमा पृथ्वीको प्रत्यक्ष भ्यू हेर्न सकिन्छ । यसमा केही घण्टा अघिको पृथ्वी देख्न पाइन्छ । जुन यसको प्रमुख फाइदा हो । म्याप हेर्न यहाँ क्लिक गर्नुहोस् । 

२. युनाइटेड नेसन्स क्लियर म्याप 

संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहेको यस म्याप्समा विश्व मानचित्रको विभिन्न संस्करण देख्न सकिन्छ । ती मध्ये क्लियर म्याप्स र कार्टो टाइल विशेष छन् ।

यीबाट देशहरूको सीमानाहरू देख्न सकिन्छ । विशेषगरी शैक्षिक प्रयोजनका लागि प्रयोग गरिने यस म्यापमा देशहरूको नक्सा हेर्न प्रयोगकर्ताहरूले जुमइन र जुमआउट गर्न सक्छन् ।

म्याप हेर्न यहाँ क्लिक गर्नुहोस् । 
 

३. यूएसजीएस

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प र अन्य विश्वव्यापी प्रकोपहरूको जानकारी दिन यो म्याप सञ्चालन गरिरहेको छ । यसमा भूकम्प, ज्वालामुखी, बाढी, आगलागी, पहिरो, खडेरी जस्ता प्रकोप विश्वको कुनकुन भागमा भयो/भइरहेको छ भन्ने कुरा हेर्न सकिन्छ ।

म्याप हेर्न यहाँ क्लिक गर्नुहोस् । 

४. सेन्टिनल

सन् २०१५ मा युरोपेली अन्तरिक्ष एजेन्सीले सेन्टिनल अब्जरभेसन स्याटलाइट प्रक्षेपण गरेको थियो । यस एपमा सोही स्याटलाइटले खिचेको पृथ्वी देख्न सकिन्छ ।

यसमा प्रयोगकर्ताले कुनै विशेष दिन अथवा समय चयन गरेर कुनै पनि ठाउँको दृश्य हेर्न सक्नुहुन्छ । 

म्याप हेर्न यहाँ क्लिक गर्नुहोस् । 

५. नाटो 

दोस्रो विश्वयुद्धपछि युरोप र उत्तरी अमेरिकाका देशहरू मिलेर बनेको उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) ले पनि आफ्नो सदस्य राष्ट्रहरूको भूगोलबारे जानकारी दिन म्याप एप्लिकेसन चलाइरहेको छ । सोमार्फत प्रत्येक सदस्य राष्ट्रको भौगोलिक अवस्था हेर्न सकिन्छ ।

यसका साथै ती राष्ट्रबारे विभिन्न तथ्यहरू पनि हेर्न सकिन्छ । म्याप हेर्न यहाँ क्लिक गर्नुहोस् । 

यीबाहेक पनि विभिन्न संघसंस्थाले अनलाइन म्याप चलाइरहेका छन् । सीआईए वर्ल्ड फ्याक्टबुक म्याप्स, आर्क जीआईएस वर्ल्ड इमेजरी, एज्री ल्यान्डस्याट एक्सप्लोलर केही उदाहरण हुन् ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ ९:५३