close

टेस्लाबाट ७४ खर्ब पाउने भएपछि नाच्दै स्टेज चढे एलन मस्क

टेकपाना टेकपाना

असार २, २०८१ १५:३३

टेस्लाबाट ७४ खर्ब पाउने भएपछि नाच्दै स्टेज चढे एलन मस्क

काठमाडौं । एलन मस्कले विद्युतीय सवारी निर्माता टेस्लाबाट आफ्नो कुल सम्पत्तिको २५ प्रतिशत बराबर हुने रकम पाउने भएका छन् । गत बिहीवार सम्पन्न टेस्लाको वार्षिक साधारण सभाले पारित गरेसँगै मस्कले ५६ अर्ब डलर (करिब ७४ खर्ब ६७ खर्ब ५० करोड ४८ लाख रुपैयाँ) पाउने भएका हुन् । 

सन् २०१८ मा टेस्लासँग मस्कले प्रदर्शनमा आधारित कम्पेन्सेसन प्याकेज लिने सम्झौता गरेका थिए । त्यसयता टेस्लाबाट मस्कले तलब, नगद बोनस र कुनै इक्विटी नलिई कम्पेन्सेसन प्याकेज लिंदै आएका थिए । 

यस अन्तर्गत कम्पनीलाई निश्चित उचाइमा पुर्‍याउँदा मस्कले टेस्लाको कूल मूल्यको एक प्रतिशत बराबर स्टक पाउने गर्छन् । सो आधारमा उनले टेस्लाबाट ३० करोड ३० लाख स्टक पाउने तय भएको थियो, जुन अहिलेको समयमा ५६ अर्ब डलर हाराहारी हुन आउँछ । 

मस्कले रकमभन्दा पनि टेस्लाको स्टक पाउने भएकाले त्यसबापत प्राप्त हुने रकम फरक फरक हुने गर्छ । यसरी मस्कलाई प्रदर्शनमा आधारित कम्पेन्सेसन प्याकेज दिनेबारे प्रस्ताव पारित भएको टेस्लाले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ । 

यसका साथै मस्क आफैंले पनि समर्थकलाई धन्यवाद दिँदै टेस्ला शेयर होल्डरको योजना सफल हुन गइरहेको बताएका छन् । बोर्डले पे प्याकेज स्वीकृत गरेपछि मस्क नाच्दै स्टेज चढेको भिडिओ अहिले भाइरल छ ।

यद्यपि साधारण सभाले यो कुरामा समर्थन जनाए पनि कानुनी बाधा रहेकाले यो डिल अहिले अन्योलमा छ ।

गत जनवरीमा अमेरिकी राज्य डेलावेयरकी एक न्यायाधीशले सो डिल खारेजी गरिदिएकी थिइन् । यदि अदालतको उक्त निर्णय पल्टियो भने मस्कको यो तलब प्याकेज अमेरिकामा सबैभन्दा धेरै कमाउने सीईओको तलबभन्दा ३०० गुणा र औसत सीईओको तलबभन्दा तीन हजार गुणा बढी हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८१ १५:४३