काठमाडौं । अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म उल्फ ७७७ (Wolf 777 Online Casino) मा जुवा खेलाएको आरोपमा छ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं र रूपन्देहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रूपन्देहीका २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जैसवाल, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय रामु गिरी, २८ वर्षीय प्रतीक बस्याल र २९ वर्षीय सजल श्रेष्ठ रहेका छन् ।
उनीहरू उल्फ ७७७ अनलाइन क्यासिनो साइटबाट अनलाइन सट्टेबाजी (अनलाइन जुवा) खेलाउने काम गर्दैछन् भन्ने सूचना सीआईबीले पाएको थियो । त्यसैको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त प्लेटफर्मका सञ्चालकले विभिन्न व्यक्तिलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जाल मार्फत पठाउने गरेको देखियो ।
त्यसरी पैसा पठाउने व्यक्तिलाई अनलाइन सट्टेबाजी खेलाई हारजित हुने गरी करिब दुई महिनादेखि अवैध कारोबार गरेको खुलेको सीआईबीले जनाएको छ ।
उनीहरूले हालसम्म २४ करोड रुपैयाँ बराबरको शङ्कास्पद अनलाइन कारोबार गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गतको सट्टाबाजी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।