काठमाडौं । स्मार्टफोन निर्माता एप्पलका सीईओ टिम कुकले मानिसहरू आवश्यकता भन्दा बढी समय स्मार्टफोनमा बिताउने गरेको अभिव्यक्ति दिएका छन् । युट्युबर मार्किस ब्राउन्लीसँग हालै एक अन्तर्वार्ता दिँदै कुकले मानिसहरूमा स्मार्टफाेनकाे लत लाग्नु सबैभन्दा ठूलाे समस्या भएकाे भनाइ राखे ।
एप्पल इन्टेलिजेन्स वा आर्टिफिसियल इन्टेलिजेन्स स्मार्ट हुँदै गएको परिस्थितिमा फोनमा गर्नुपर्ने काम घट्दै जाने भएकाले फोनको प्रयोग घट्ने सम्भावना रहेको उनले सुनाए ।
अर्को एक पडकास्टमा बोल्दै कुकले जीवन सहज बनाउन फोन निर्माण गरिए पनि अत्यधिक प्रयोग हानिकारक रहेकाे तर्क राखे । “मेरा लागि त के छ भने यदि म कसैको आँखामा हेर्न सक्ने समयभन्दा बढी फोनमा हेरिरहेको छु भने मैले गल्ती गरिरहेको छु,” उनले भने ।
त्यस्तै उनले हरेक साता स्क्रिन टाइमको रिपोर्ट हेर्दा आफू पनि फोनमा भुलेको थाहा पाएको सुनाए । सो अन्तर्वार्ताका क्रममा उनले आफूले फोनमा आएका नोटिफिकेसनकै कारण फोन बारम्बार उठाउने (प्रयोग गर्ने) गरेको बताए । यसरी फोनको लत लागेकाे महसुस भएपछि आफूले त्यसलाई रोकेको उनले उल्लेख गरे ।
“हामी मानिसहरूले हामीले बनाएको फोन धेरै प्रयोग गरून् भन्ने चाहँदैनौं ,” कुकले अगाडि भने, “हामीले त्यसो गर्न मान्छेलाई प्रोत्साहन पनि गरेका छैनाैं । त्यसो होस् भन्ने चाहना पनि होइन । मान्छे बढी फोन प्रयोग नगरून् भनेर हामीले डिभाइसमा विभिन्न टुलहरू उपलब्ध गराएका छौं ।”
फोनमा मान्छेका गतिविधि ट्रयाक गरेर त्यसलाई नियन्त्रण गर्न सघाउने थुप्रै फिचर आईफोनमा भएको कुकको भनाइ छ । त्यसमध्येको 'स्क्रिन टाइम' फिचरले प्रयाेगकर्ता कुन एपमा कति समय बिताउँछन् भन्ने जानकारी दिने गरेको उनले सुनाए ।
युट्युबर ब्राउन्लीसँगको कुराकानीमा कुकले फोन अनावश्यक रूपमा प्रयोग गर्नेभन्दा पनि रचनात्मक कामका लागि प्रयोग हाेस् भन्नेमा एप्पल केन्द्रित रहेको उल्लेख गरे ।
“हामी सफल हुन मान्छेले हरेक समय हाम्रो डिभाइस प्रयोग गर्न आवश्यक छैन,” उनले भने, “त्यसको विकल्पमा हामी मान्छेलाई त्यस्तो फिचर उपलब्ध गराउँदैछौँ, जसले गर्दा मान्छे आफूले पहिले फोनबाट गर्न नसक्ने काम अब गर्न सक्छन् ।”
Apple CEO Tim Cook shares his screen time pic.twitter.com/Dxkza5YyWm
— Historic Vids (@historyinmemes) June 19, 2024
पछिल्लो अध्यावधिक: असार ५, २०८१ १६:२०
