close

जब परपुरुषले श्रीमान्‌लाई पठाइदिए उनकी श्रीमतीका अश्लील फोटो र भिडिओ

हिक्मत आचार्य हिक्मत आचार्य

असार ७, २०८१ १३:४१

जब परपुरुषले श्रीमान्‌लाई पठाइदिए उनकी श्रीमतीका अश्लील फोटो र भिडिओ

काठमाडौं । आवेगमा आएर प्रेमिकाको श्रीमान्‌लाई अश्लील फोटो र भिडिओ पठाउँदा एक युवक कानुनी झमेलामा फसेका छन् । आफ्नो र प्रेमिकाको सम्बन्ध रहेको बारे उनका श्रीमान्‌ र आफन्तलाई जानकारी दिन अश्लील फोटो र भिडिओ पठाउँदा उनी कानुनी फन्दामा परेका हुन् ।

त्यसरी अश्लील फोटो र भिडिओ पठाउने व्यक्ति हुन्, सप्तरी घर भई हाल काठमाडौंको कागेश्वरी बस्दै आएका २४ वर्षीय धर्मेन्द्रकुमार यादव । सामाजिक सञ्जालका माध्यमबाट अश्लील भिडिओ पठाई मानसिक तनाब दिएको, चरित्र हत्या गरेको र त्यसैको आडमा रकम मागेर आपराधिक लाभ लिएको आरोपमा उनी जेठ पहिलो साता पक्राउ परे । 

भएको के हो ?

रक्षा शर्मा (नाम परिवर्तन) ले विभिन्न तवरबाट आफ्नो चरित्र हत्या गरिएको, तनाव दिएको र ब्ल्याकमेल गरी रकम लिएको भन्दै १६ वैशाखमा धर्मेन्द्रकुमार यादव विरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । शर्माका अनुसार उनका श्रीमान्‌ विगत सात वर्षदेखि नयाँ पुराना घरमा रङ्गरोगनको काम गर्दै आइरहेका थिए । करिब तीन वर्षअघि उनका श्रीमान्‌को भेट धर्मेन्द्रकुमार यादवसँग भएको थियो । र, उनले यादवलाई आफैंसँग काम लगाउँदै आएका थिए । 

काम गर्ने क्रममा यादव उनको परिवारसँग नजिकिए । त्यसैले उनी पनि काठमाडौंको बुद्धनगरमा ती महिलाको परिवारकै डेरामा बस्न थाले । “त्यस क्रममा केही समय अघि उनले (यादव) मलाई थाहा नहुने गरी लुकीछिपी म नुहाइ रहेको र कपडा फेरेको अवस्थाको मेरो अश्लील भिडियो रेकर्ड गरी आफ्नो मोबाइलमा सुरक्षित राखेका रहेछन्,” शर्माले प्रहरीमा दिएको निवेदनमा भनेकी छिन्, “उनले त्यही भिडिओलाई आधार बनाई मेरो ईमोमा अश्लील भिडिओको स्क्रिनशट पठाएर मलाई गोप्य अङ्ग देखाउन बाध्य पार्दै आएका थिए ।”

उनका अनुसार भिडिओ कलमा गोप्य अङ्ग नदेखाए उनका श्रीमान्‌ र नाबालक छोरालाई मारिदिने धम्की यादवले दिएका थिए । त्यति मात्र नभई यादवले फोटो र भिडिओको आडमा रकम पनि मागेको बताइएको छ । त्यसपछि ती महिलाले बाध्य भएर आफूले भिडिओ कलमा उनले भने अनुसार गोप्य अङ्ग देखाइन् । 

त्यस बाहेक यादवले भनेको बैंक अकाउन्टमा रकम समेत पठाएको पीडित महिलाको दाबी छ । यसरी उनले विभिन्न समयमा यादवलाई छ लाख ८६ हजार ७१५ रुपैयाँ पठाएको दाबी गरेकी छिन् । तर, त्यति गर्दा पनि यादवले फेसबुक आईडीबाट आफ्ना श्रीमान्‌को मेसेन्जरमा ती अश्लील फोटो र भिडिओ पठाइदिएको शर्माको आरोप छ । 

पीडकको जिरह

आरोपित यादवका अनुसार उनको भेट रक्षा शर्मासँग माथि भनिए जस्तै गरी भएको थियो । प्रहरीसँगको बयानमा उनले भनेका छन्, “तर मैले अश्लील तस्विरको आडमा पैसा माग्ने काम गरेको छैन ।”

यादवका अनुसार घरमा रङरोगन गर्ने ठेक्का पट्टाको काम सकिएपछि इन्जिनियरले शर्माको अकाउन्टमा पारिश्रमिक हालिदिन्थे । त्यसपछि मात्र यादव र अन्य हेल्पर मिस्त्रीले पाउनु पर्ने रकम शर्माले उपलब्ध गराउँथिन् । “उनले (शर्मा) के-कसरी मसँग ब्ल्याकमेल गरेर मेरो मोबाइलमा ब्यालेन्स पठाई दिने, विभिन्न बैंक खाता तथा वालेट समेतमा हालसम्म पटक पटक गरि जम्मा छ लाख ८६ हजार ७१५ रुपैयाँ हालिदिएँ भनी जाहेरी दरखास्त बेहोरामा खुलाई लेखाई दिनु भयो सो बारेमा मलाई केही जानकारी छैन,” प्रहरीसँगको बयानमा यादवले भने । 

यादवका अनुसार शर्माका श्रीमान्‌ लागू औषध तथा बहुविवाह मुद्दामा परी थुनामा गएका थिए । त्यति बेला उनी कोठामा एक्लै हुन्थिन् । विस्तारै यादव र शर्मा नजिकिए । यादवले भने अनुसार उनीहरूबिच प्रेम सम्बन्ध स्थापित भयो । 

“हामी प्रेम सम्बन्धमा रहँदा उनकै डेरामा हामी दुबै जना सँगै सुतिरहेको अवस्थामा सहमति अनुसार फोटो खिचेर तत्कालै हेरेर डिलिट गर्ने सर्तमा फोटोहरू खिच्ने गरेका थियौं,” यादवले बयानका क्रममा भने, “तर मैले ती फोटोहरू डिलिट नगरी आफ्नो मोबाइलमा सुरक्षित गरेर राख्ने गरेको थिएँ ।”

यादवका अनुसार उनले शर्मालाई आफूसँग उनीहरूबिचको अश्लील फोटो रहेको बताएका थिए । भिडिओ कलमा गोप्य अङ्ग नदेखाए उनका श्रीमान्‌ जेलबाट छुट्नासाथ फोटो देखाइदिने र सम्बन्धबारे जानकारी दिने भन्दै धम्क्याएको कुरा भने यादवले स्वीकारेका छन् । त्यसपछि महिलाले यादवले भने अनुसार ईमो कलमा आफ्ना गोप्य अङ्ग देखाइन् । यता यादवले महिलाले गोप्य अङ्ग देखाउँदाको समयमा पनि स्क्रिनशट लिइरहे । 

यादवले प्रहरीसँगको बयानमा भने अनुसार पछि उनका श्रीमान्‌ जेलबाट छुटे । यता शर्माले यादवको वास्ता गर्न छोडिन् । केही समयपछि यादवलाई उनले हरेक माध्यमबाट ब्लक गरिन् । यता यादवलाई रक्षाले बेवास्ता गरेको कुरा चित्त बुझेन । त्यसपछि उनले ती फोटो महिलाका श्रीमान्‌ र अन्य आफन्तलाई पठाउने योजना बुने । उनलाई लागेको थियो कि त्यसरी फोटो देखेपछि श्रीमान्‌ले ती महिलालाई छोड्छन् । अनि, उनीहरूबिच विवाह हुन्छ । त्यही आशामा यादवले महिलाका श्रीमान्‌ र अन्य आफन्तलाई नक्कली फेसबुक अकाउन्ट खोलेर फोटो पठाइदिए । 

यसरी फोटो पठाएपछि महिलाले उजुरी दिएकाले आफू पक्राउ परेको उनको भनाइ छ । “रक्षाले मलाई सामाजिक सञ्जाल फेसबुक, ईमो, ह्वाट्सएप, मोबाइल नम्बरमा समेत ब्लक गरी राखेको र सम्पर्क विहीन भएको हुँदा म रिसको आवेगमा आएको थिएँ,” उनले भनेका छन्, “उनको र मेरो सम्बन्धको बारेमा जानकारी भएपछि जाहेरवालाको पतिले छोड्छन् र म विवाह गरौंला भन्ने मनसाय राखी उक्त कार्य गरेको हुँ । यस्तो काम गर्नु मेरो गल्ती भयो ।”

यादवविरुद्धको अभियोग !

यो मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । साइबर ब्युरोलाई प्राप्त भिडिओ, फोटो र स्क्रिनशट जस्ता प्रमाणका आधारमा आरोपित यादवमाथि समाजमा पीडितको बदनाम, बेइज्जत गराइ चरित्रहत्या गर्नुका साथै पीडितलाई अनावश्यक दुःख हैरानी, मानसिक तनाव दिने काम गरी विद्युतीय अपराध सम्बन्धी कसुर गरेको अभियोग छ । त्यस्तै यादवले महिलाको अश्लील भिडिओ र फोटो उनका आफन्त र श्रीमान्‌लाई पठाइदिन्छु भन्दै धम्की दिएर पटक पटक गरी छ लाख रुपैयाँ बढी रकम लिएको भन्दै आपराधिक लाभ लिएको कसुर समेत उनीमाथि लगाइएको उल्लेख छ । 

यादवमाथि के होला सजाय ?

९ जेठ २०८१ मा काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा यादवले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको उल्लेख छ । त्यसका साथै उनले मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ को उपदफा (१) ले निषेधित ऐन संहिताको दफा २५३ को उपदफा (२) बमोजिमको कसुर गरिएको बताइएको छ । 

त्यसैगरी यादवले एकै वारदातमा विद्युतीय अपराध र आपराधिक लाभ सम्बन्धी एकभन्दा बढी कसुर गरेको हुँदा एकीकृत कसुरतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा ४३(१) बमोजिमको कसुरमा दफा ४३ (२) बमोजिम थप सजाय पनि माग गरिएको छ ।

मुलुकी अपराध संहिता २९७४ को दफा २५३ को उपदफा (१) अनुसार आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै कसैको व्यवसायमा गैर कानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८१ १४:५