close

फोटोशपमा आए ६ एआई टुल, तपाईँले चलाउनुभयो ?

टेकपाना टेकपाना

असार ९, २०८१ १४:४१

फोटोशपमा आए ६ एआई टुल, तपाईँले चलाउनुभयो ?

काठमाडौं । नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल बन्ने मात्र होइन, चल्तीका सफ्टवेयरमा समेत एआई टुल एकीकृत हुने क्रम बढिरहेको छ । यसको राम्रो उदाहरण हो, फोटो एडिटिङका लागि चर्चित सफ्टवेयर फोटोशपमा एआई फिचर आउनु ।

फोटोशपमा आएका विभिन्न एआई फिचर एडोबी फायरफ्लाईबाट सञ्चालित छन् । यसअन्तर्गत फोटोमा भएको ब्याकग्राउन्ड हटाउनेदेखि खाली ठाउँ भर्नेसम्मको काम एआईले गर्न सक्छ । आज हामी फोटोशपमा आएका केही फिचरबारे चर्चा गर्ने छौं: 


१. रिमुभ टुल 

फोटोमा भएका अनावश्यक भाग हटाउन पहिले समय लाग्थ्याे । तर अहिले एआई टुलका कारण यो काम गर्न सजिलो भएको छ । केही क्लिकमै फोटोमा भएको नचाहिने भागलाई हटाउन सकिन्छ । फाेटाेशपकाे टुलबारमा 'रिमुभ टुल'  पाउन सक्नुहुन्छ । यो टुल सेलेक्ट गरेपछि तपाईंले ब्रशको आकार छनोट गरेर कुनै पनि भाग हटाउन सक्नुहुन्छ । 

२. जेनेरेटिभ एक्स्पान्ड 

कतिपय अवस्थामा फोटोको आकार अझै ठूलो भए हुन्थ्यो भन्ने लाग्छ । केही समयअघिसम्म यो काम गर्न निकै अप्ठ्यारो हुन्थ्यो । तर जेनेरेटिभ टुलका कारण फोटोको भाग बढाउन निकै सजिलो पनि भएको छ । यसका लागि क्रप टुल प्रयोग गर्नुपर्छ ।

तपाईंले किबोर्डमा 'सी' क्लिक गर्न सक्नुहुन्छ । अब क्रप गर्नुकाे साटाे साटो एज बक्सको एज तान्नुहोस् । अब अप्सन बार (कन्टेक्स्चुअल टास्क बार) मा भएको जेनेरेटिभ एक्सपान्डमा क्लिक गर्नुहोस् । यसमा अब प्रम्प्ट लेख्न सक्नुहुन्छ । त्यसपछि 'जेनेरेट'मा क्लिक गर्नुहोस् ।

३. सेलेक्ट सब्जेक्ट 

फोटोमा भएका भागहरू छनाेट गर्न पनि निकै गाह्रो काम मानिन्छ । तर एआईका कारण यो काम पनि सजिलो भएको छ । सो टुल म्याग्नेटिक लासो (Magnetic Lasso) भन्दा निकै राम्रो पनि छ । यो टुल सेलेक्ट मेनुभित्र पाउन सकिन्छ ।

४. सेलेक्ट अब्जेक्ट 

फोटोमा सब्जेक्ट भनेको तस्वीरको मुख्य फोकस हो । अनि अब्जेक्ट भनेको फोटो भित्रको कुनै पनि भाग हो । कतिपय अवस्थामा तपाईंले फोटोको कुनै भाग छान्नुपर्ने हुन्छ । पहिले यो काम पनि म्यानुअल्ली गर्नु पर्थ्यो ।

तर अहिले भने यसका लागि 'सेलेक्ट अब्जेक्ट' नामको एआई टुल उपलब्ध छ । यो टुलको काम नै फोटोमा भएका कुनै पनि भाग छनाेट गर्नु हो । तपाईंले म्याजिक वान्ड र क्विक सेलेक्सन टुलभित्र यसलाई फेला पार्न सक्नुहुन्छ । 

५. स्काइ रिप्लेसमेन्ट

फोटोशपमा भएका गाह्रो कामहरूमध्ये एक हो, आकाश एडिट गर्नु । चाहे त्यो बादल होस् अथवा आकाशकाे अन्य भाग । तर आजकल एआईका कारण यो काम गर्न सहज र सरल भएको छ ।

यसका लागि एडिटमा गएर स्काइ रिप्लेसमेन्टमा जानुहोस् । त्यहाँ खुल्ने पपअप विन्डोमा आकाशमा तस्वीर देखिन्छन् । जसलाई तपाईंले आफू अनुकूल सम्पादन गर्न सक्नुहुन्छ । 

६. जेनेरेटिभ फिल  

नाम जस्तै यो टुलको काम पनि फोटोमा भएका भागहरू भर्नु हो । फोटोमा भएका कुनै पनि भागलाई तपाईंले एआई र प्रम्प्टका आधारमा भर्न सक्नुहुन्छ । विशेषगरी यो टुल फोटो सम्पादनभन्दा पनि ग्राफिक्स डिजाइनिङमा बढी उपयोगी हुन्छ ।

यसका लागि तपाईंले फोटोको केही भाग सेलेक्ट गर्नुहोस् । अब ‘कन्टेक्सचुअल’ टास्क बारमा आफ्नो प्रम्प्ट लेखेर जेनेरेटमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १८:५६