close

४७ लाख मूल्य पर्ने ‘केई एक्स-३ प्रो’ ईभीको बुकिङ खुला, केके छन् फिचर ?

टेकपाना टेकपाना

असार १३, २०८१ १५:३३

४७ लाख मूल्य पर्ने ‘केई एक्स-३ प्रो’ ईभीको बुकिङ खुला, केके छन् फिचर ?

काठमाडौं । नेपाली बजारमा केई मोटर्सको इलेक्ट्रिक एसयूभी ‘एक्स-३ प्रो’को बुकिङ खुला भएको छ । केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्राइभेट लिमिटेडले नेपाली उपभाेक्ताका लागि बिहीबारदेखि ‘एक्स-३ प्रो’को बुकिङ खुला गरेको हो ।

डिलक्स र फ्ल्यागशिप गरी कम्पनीले दुई भेरियन्टमा याे एसयूभीकाे बुकिङ खुलाएको हो । यसअन्तर्गट्ट डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ र फ्ल्यागशिप भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

एक्स-३ प्रोमा कटिङ एज टेक्नोलोजी, स्लिक डिजाइन र स्तरीय पर्फमेन्स रहेको कम्पनीको भनाइ छ । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर छ । यसको अधिकतम टर्क २८० एनएम छ भने एक पटकको चार्जमा ४०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार गाडीको ब्याट्रीलाई सात किलोवाट क्षमताको एसी चार्जरले आठ घण्टामा फुल चार्ज गर्न सकिन्छ । साथै यसले १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ । उक्त चार्जरले गाडीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने यो गाडीको लम्बाइ ४४०० एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६५३ एमएम रहेको छ । पाँच सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्विलवेस रहेको छ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग भएको छ । पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ ।

यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ । ग्राहकले यो गाडी विभिन्न पाँच कलर अप्सनमा खरिद गर्न सक्नेछन् ।

केई एक्स-३ प्रोमा सबै एलईडी लाइटहरू प्रयोग भएका छन् । यसमा १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम छ भने सात इन्चको एलसीडी इन्फरमेसन क्लस्टर, इन्टेलिजेन्ट स्काइरुफ, ड्यूल जोन एसी, वायरलेस मोबाइल चार्जर, पावर एड्जस्टेबल ड्राइभर सिट रहेको छ ।

चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको यो गाडी सुरक्षाका हिसाबले पनि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । यसमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडीएएस (Advanced driver-assistance system) फिचर छन् ।

एडीएएसभित्र हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, ईबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । कम्पनीले ब्याट्रीसहित सबै किसिमका मोटर र इलेक्ट्रिकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी दिएको छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १६:५७