close

अब आईफोनको लकस्क्रिनमा नेपाली अक्षर राख्न सकिने

टेकपाना टेकपाना

असार २१, २०८१ १३:१

अब आईफोनको लकस्क्रिनमा नेपाली अक्षर राख्न सकिने

 

काठमाडौं । अब आईफोनको लकस्क्रिनमा देवनागरी लिपी (नेपाली भाषा समेतको) देख्न सकिने भएको छ । कम्पनीले सार्वजनिक गरेको आईओएसको नयाँ भर्सनमा लकस्क्रिनमा विभिन्न भाषा सपोर्ट हुने फिचर उपलब्ध गराएसँगै देवनागरी समेत समेटिएको हो । 

नयाँ अपडेटसँगै लक स्क्रिनमा विभिन्न १२ भाषा समेटिएका छन् । त्यसमध्ये अधिकांश भारतमा प्रयोग गरिने भाषाहरू छन् । अब आईओएस १८ अपडेट पाउने आईफोनको लक स्क्रिनमा देवनागरी, अरबिक, अरबिक इन्डिक, बङ्ग्ला, गुजराती, गर्मुखी, कन्नाड, मलायालम, मेइतेई, ओडिआ, आई  चिकी र तेलगु भाषा राख्न सकिनेछ । 

नयाँ अपडेटसँगै किबोर्डमा पनि कम्पनीले विभिन्न भाषाको सपोर्ट ल्याएको छ । अब आईफोनमा टाइप गर्दा अन्य भाषाको स्क्रिप्ट पनि माथि सुझावका रूपमा देखिनेछ । अर्थात् तपाईंले रोमनमा केही टाइप गर्नुभयो भने देवनागरी लिपिमै पनि शब्दहरू सुझावका रूपमा देखिनेछन् । यसका लागि प्रयोगकर्ताले किबोर्ड स्विच गरिरहनु पर्ने छैन । 

त्यस्तै कुनै मेसेजिङ एपमा तपाईंले विभिन्न भाषामा कुरा गर्नु भएको छ भने कीबोर्डले तपाईंले अन्तिममा कुन भाषामा कुरा गर्नुभएको थियो भन्ने सम्झिन्छ । र, उक्त थ्रेड्को लागि तपाईंले प्रयोग गरेको पछिल्लो भाषा सुझाव दिन्छ । 

एप्पलले आईओएस १८ आगामी सेप्टेम्बरमा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउने तयारी गरेको छ । हाल यसको बेटा भर्सन मात्र सार्वजनिक भएको छ । 

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १३:१