काठमाडौं । अहिले देशभर झरी परिरहेको छ । ठीक यही समय खेती किसानीको बेला पनि हो । कुनै काम विशेषले बाहिर निस्किरहँदा फोन पानीमा खस्न सक्छ । अहिलेका धेरै जसो स्मार्टफोन वाटर रेसिस्टेन्ट हुन्छन् ।
तर त्यसको अर्थ वाटर प्रुफ अर्थात् पानी प्रतिरोधी भन्ने होइन । सानो गल्तीले तपाईंको फोन नै बिग्रन सक्छ । यद्यपि तपाईंले केही सतर्कता अपनाउनु भयो भने फोन नै काम नलाग्ने हुनबाट बचाउन सक्नुहुन्छ ।
फोन पानीमा खस्यो भने के गर्ने ?
फोन पानीमा पर्ने बित्तिकै सबैभन्दा पहिला त सकेसम्म छिटो निकाल्ने प्रयास गर्नुपर्छ । त्यसपछि फोन नचलाइकन स्विच अफ गरिदिनुहोस् ।
यदि तपाईंले मोबाइलमा कभर राख्नु भएको छ अथवा निकाल्न मिल्ने ब्याट्री छ भने त्यसलाई झिक्नुहोस् । तर, मोबाइलका अन्य कुनै पनि बटनहरू जथाभाबी दबाउने गल्ती भने नगर्नुहोस् । किनकि त्यसो गर्दा फोनमा शर्ट सर्किट हुन सक्छ ।
सम्झनु पर्ने कुरा पानीमा डुबेको फोन सुकाउनको लागि तातो चिजको छेउ लाने अथवा ड्रायर प्रयोग गरेर सुकाउने प्रयास गर्नु हुँदैन । यसो गर्दा मोबाइलका विद्युतीय पार्टपुर्जा बिग्रिन सक्छन् ।
बरु यसको साटो फोनलाई एउटा नरम सफा कपडाले पुछ्नुहोस् र मोबाइलमा रहेको सिम स्लट, चार्जिङ पोर्ट र इयरफोन ज्याकबाट भित्र पानी नपसोस् भनेर मुखले नै विस्तारै सोसेर पानी बाहिर निकाल्ने कोसिस गर्नुहोस् ।
बल गरेर भित्रतर्फ फुक्नु भने हुँदैन । यसो गर्दा उल्टै मोबाइल भित्र पनि पस्न सक्छ । हामी बीच सबैभन्दा चल्तीको उपाय भनेको फोनलाई चामलमा राख्नु हो । चामलले पानी सोस्ने भएको हुँदा यो उपायले केही मद्दत भने अवश्य गर्न सक्छ । यद्यपि चामलले पनि फोन भित्रको सबै पानी सोस्न भने सक्दैन ।
पूर्ण रूपमा पानी बाहिर आएन भने यसले अर्को समस्या पनि निम्त्याउन सक्छ । त्यसमाथि चामलका साना दानाहरू फोनको पोर्टबाट भित्र पस्न सक्छन् । यसको लागि फोनलाई एउटा टिस्यु पेपरमा बेरेर चामलको बोरामा राख्न सक्नुहुन्छ ।
तर कहिलेकाहिं समस्या गम्भीर पनि भइदिन सक्छ । यस्तो अवस्थामा भने नजिकको मोबाइल पसलमा गएर आफ्नो फोन देखाउँदा राम्रो हुन्छ । यसबाहेक एप्पल तथा सामसङले समेत फोन पानीमा खसेको अवस्थामा के गर्ने भन्ने विषयमा आआफ्नै सुझाव दिएका छन् ।
के भन्छ एप्पल ?
आफ्नो आईफोनलाई पानीबाट हटाएर अफ गर्ने । नरम र भुवा रहित कपडाले पुछ्ने ।
पानी बाहिर निकाल्न चार्जिङ पोर्टलाई तलतिर फर्काएर फोनलाई विस्तारै झड्कार्ने
सुक्खा ठाउँमा आफ्नो आईफोन राख्ने । आईफोनको चार्जिङ पोर्टमा पर्ने गरी फ्यान चलाउन पनि सकिन्छ । अनि, कम्तीमा पाँच घण्टा पर्खिनुहोस् ।
पाँच घण्टापछि आईफोन अन गर्नुहोस् । यदि त्यस बेला पनि समस्या आइरहेको छ भने प्राविधिकलाई देखाउनु होस् ।
एप्पलको सुझाव विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।
सामसङको सुझाव
सामसङले पनि एप्पलकै जस्तो उपाय सुझाएको छ ।
फोनलाई पानीबाट निकालेर अफ गर्ने ।
सुख्खा तौलिया वा सफा कपडाले पुछ्ने ।
राम्रोसँग हावा चल्ने ठाउँमा वा चिसो हावा आउने ठाउँमा फोनलाई राख्ने ।
एप्पलले आईफोनका लागि सुझाए जसरी सामसङले भने पर्खिने समय निश्चित गरेको छैन । यसका साथै घरेलु उपाय अपनाएपछि फोन अन भए पनि भित्र पानी हुन सक्ने भएकाले प्राविधिकलाई नै देखाउनु उत्तम हुने सामसङको सुझाव छ । सामसाङको सुझाव बारे विस्तृतमा जानकारी राख्न यहाँ क्लिक गर्नुहोस् ।