close

निजीले शुल्क बढाएपछि सरकारी कम्पनी बीएसएनएल तर्फ ढल्किन थाले भारतीय मोबाइल प्रयोगकर्ता

टेकपाना टेकपाना

असार २८, २०८१ १६:३२

निजीले शुल्क बढाएपछि सरकारी कम्पनी बीएसएनएल तर्फ ढल्किन थाले भारतीय मोबाइल प्रयोगकर्ता

काठमाडौं । भारतका मुख्य तीन निजी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले हालै आफ्नो ट्यारिफ तथा शुल्क १५ प्रतिशतले बृद्धि गरेपछि स्थानीय प्रयोगकर्ताले सरकारी टेलिकम कम्पनी सम्झिन थालेका छन् । शुल्क बृद्धिको असन्तोषको रूपमा भारतीय मोबाइल प्रयोगकर्ता सरकारी कम्पनी बीएसएनएल तर्फ ढल्किन थालेका हुन् ।

जिओ, भोडाफोन आइडिया र एयरटेलले आफ्ना प्रिपेड तथा पोस्टपेड दुवै खाले ग्राहकका लागि प्लान (योजना) मा औसत १५ प्रतिशतले बढाएका छन् । यस बाहेक दूरसञ्चार कम्पनीहरूले वार्षिक रिचार्ज योजनाको शुल्क अनुमानित ५०० देखि ६०० रुपैयाँ माथि पुगेको छ । बीएसएनएलले भने यो अवस्थाको फाइदा उठाउन थालेको छ ।

भारत सरकारको स्वामित्वमा रहेको यो कम्पनीले यही अवसरमा आफ्ना रिचार्ज प्लानको प्रवर्धन थालेको छ । जुन अन्य सेवा प्रदायकका रिचार्ज प्लानसँग तुलना गर्दा निकै सस्ता छन् ।

बीएसएनएलले टुजी तथा थ्रीजी नेटवर्कमा काम गरिरहेको छ र फोरजी सेवा भने देशका निश्चित भूभागमा मात्रै उपलब्ध छ । आउँदो महिना कम्पनीले देशव्यापी रूपमा फोरजी सेवा रोलआउट गर्ने अपेक्षा गरिएको छ । तर भारतका निजी टेलिकम कम्पनीले फाइभजी सेवा विस्तार गरिरहँदा सरकारी कम्पनीले भने हालसम्म उक्त सेवा सार्वजनिक समेत गर्न सकेको छैन ।

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १६:३४