close

फेसबुकबाट पुरुषलाई कोठामा बोलाई अश्लील भिडिओ अनि त्यसैको आडमा १ करोड माग्दै ब्ल्याकमेल

टेकपाना टेकपाना

असार २८, २०८१ १७:१८

फेसबुकबाट पुरुषलाई कोठामा बोलाई अश्लील भिडिओ अनि त्यसैको आडमा १ करोड माग्दै ब्ल्याकमेल

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरुषलाई हनी ट्रयापमा पार्ने गिरोह पक्राउ परेको छ । सामाजिक सञ्जाल मार्फत पुरुषहरूसँग साथी बन्ने र कोठामा भेट्न बोलाई अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्ने समूह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ७ घर भई हाल काठमाडौं-७ बौद्ध बस्ने तेन्जी डोमा छिरिङ अर्थात् डोल्मा लामा भन्ने सिर्जना तामाङ (२०) र सिन्धुपाल्चोक जुगल-५ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा मुलपानी बस्दै आएका सौरभ तामाङ भन्ने लिलाबहादुर तामाङ (२९) रहेका छन् ।

सौरभ तामाङ भन्ने लिला बहादुर तामाङले पीडितको फेसबुक आईडी तेन्जी डोमा छिरिङ तथा डोल्मा लामा भन्ने सिर्जना तामाङको ह्वाट्सएपमा पठाए र साथी बन्न लगाए । त्यसपछि फेसबुक मेसेन्जरबाट सिर्जना तामाङले पीडित पुरुषसँग कुराकानी गर्न थालिन् । यसै क्रममा उनले पीडितलाई भेट्नका लागि आफ्नो कोठामा बोलाएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

यसरी पीडित पुरुष सिर्जनाको कोठामा आउन मन्जुर हुन्छन् । योजना अनुरूप पीडितसँगको अश्लील भिडियो बनाउन सौरभ लिलाबहादुरले आफ्नो मोबाइल सिर्जना तामाङलाई दिइएको हुन्छ ।

सौरभले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडित पुरुषको अश्लील भिडिओ बनाउँछिन् र मोबाइल सौरभलाई फिर्ता गर्छिन् । त्यसपछि उक्त भिडिओ सिर्जना र सौरभले पीडितलाई पठाई सुरुमा १ करोडको बार्गेमिङ गर्छन् । यसरी पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइल, ३४ पाँच सय रुपैयाँ समेत जफत गरेको छ । गिरोहले आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले महिला र पुरुषको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर फोन आदान प्रदान गरी सम्पर्क तथा प्रत्यक्ष भेटघाट गराउने र अश्लील भिडिओ बनाउने गरेको अभियोग छ ।

यसरी बनाएको भिडिओ पीडितलाई पठाएर दबाब मूलक ढङ्गले डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको जाहेरी प्रहरी कार्यालयमा परेको थियो । सोही आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीबार उक्त घटनामा संलग्न दुई जनालाई बौद्धबाट पक्राउ गरिएको हो । उनीहरू उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १७:१९