काठमाडौं । हिजो शुक्रबार विश्वव्यापी रूपमा विभिन्न एयरलाइन्स, रेलवे, स्टक एक्सचेञ्ज, टेलिभिजन प्रसारण, टेलिकम, बैङ्क लगायतका अनलाइन सेवा ठप्प भए । क्राउडस्ट्राइक अपडेट इन्स्टल गर्दा प्रयोगकर्ताले ब्लु स्क्रिन अफ डेथ (बीएसओडी) एररको समस्या सामना गर्नु परेको थियो ।
विशेषगरी लाइसेन्स प्राप्त विन्डोज १० र ११ सिस्टममा सञ्चालित कम्प्युटरहरूमा यसखाले समस्या बढी देखिएको थियो । नेपालमा समेत बैङ्किङ सेवा तथा टेलिकम समस्या यसबाट प्रभावित भएको थियो ।
बीबीसीका अनुसार यो आईटी समस्याका कारण विश्वभर पाँच हजारभन्दा बढी उडानहरू रद्द भएका छन्, जसका कारण यात्रुहरूलाई रातभर विमानस्थलमा बस्नु परेको छ । विश्वका विभिन्न विमानस्थलहरूमा लामो लाइन, ढिलाइ र उडान रद्द हुने समस्या देखिएका छन् । यात्रुहरूलाई म्यानुअल चेक-इन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
केही सुपरमार्केटहरूले कार्ड भुक्तानीमा समस्या झेल्नु परेको छ भने केवल नगद भुक्तानी मात्र स्वीकार्नुपर्ने अवस्था आएको छ । यस समस्याले धेरै ठूलादेखि साना व्यवसायहरूलाई प्रभावित गरेको छ । ठूला कम्पनीहरूले छिट्टै समस्या समाधान गर्न सक्ने भए पनि साना र मध्यम आकारका व्यवसायहरूले कर्मचारीको कमीका कारण समस्या समाधान गर्न कठिनाइ भोग्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।
क्राउडस्ट्राइक कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा यो समस्या आएको विश्लेषकहरूले बताएका छन् । फाल्कन कम्पनीको एउटा मुख्य प्रडक्ट हो । यसले कम्प्युटरमा हुने आक्रमणको जानकारी, हाइपर एकुरेट डिटेक्सन र अटोमेटेड प्रोटेक्सन लगायतका सेवा दिन्छ । अर्थात् यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।
क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोज डिभाइसहरूलाई दुष्ट आक्रमणबाट जोगाउन बनाइएको आफ्नो एन्टिभाइरस सफ्टवेयरको अपडेटका कारण समस्या आएको स्वीकारेको छ । अहिले अपडेटलाई ठीक पारिए पनि सबै प्रणालीहरू पूर्ण रूपमा पुन: सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।
यस घटनापछि प्रविधि सम्बन्ध विभिन्न व्यक्तिले फरक-फरक प्रतिक्रिया दिएका छन् । यसले विश्वभर कति आर्थिक भार पार्यो भन्ने जानकारी अझै आउन बाँकी छ । तर हिजो क्राउडस्ट्राइकको शेयरमा ११ प्रतिशत गिरावट आएको थियो ।
वरिष्ठ साइबर सुरक्षा अनुसन्धानकर्ता ट्रोय हन्टले यस घटनालाई इतिहासमा भएको सबैभन्दा ठूलो आईटी आउटेजका रुपमा लिएका छन् । उनको यो भनाइलाई धेरै हदसम्म साँचो मान्ने मान्छे धेरै छन् । किनकि यो समस्या कुनै देश, कुनै खास क्षेत्र मात्र नभएर पुरै विश्व र धेरै क्षेत्रमा असर परेको थियो ।
एफटीसीकी अध्यक्ष लीना खानले भने बजार शक्तिमा केन्द्रित हुँदा आउटेजको समस्या भएको तर्क गरेकी छिन् । केही प्रणालीहरूमा धेरै भरोसा राख्नाले यस्तो कमजोर आएको उनको भनाइ छ ।
1. All too often these days, a single glitch results in a system-wide outage, affecting industries from healthcare and airlines to banks and auto-dealers. Millions of people and businesses pay the price.
These incidents reveal how concentration can create fragile systems.
क्राउडस्ट्राइकका संस्थापक तथा सीईओ जर्ज कुर्ट्जले भने एक ब्लगमार्फत यस घटना भएकोमा औपचारिक रुपमा माफी मागेका छन् । जसमा उनले समस्या पहिचान गरेर समाधान गर्न नजिकबाट काम गरिरहेको बताएका छन् । सीईओ कुर्ट्जले ग्राहकहरूको विश्वासमा कुनै कमी नआओस् भन्ने प्रतिवद्धता व्यक्त गर्दै भविष्यमा यस्ता समस्याहरू दोहोरिन नदिन सबै कदम चाल्ने आश्वासन दिएका छन् ।
त्यस्तै माइक्रोसफ्टका सीईओ सत्या नादेलाले क्राउडस्ट्राइको अपडेटका कारण नै विश्वव्यापी रूपमा आईटी सिस्टममा असर परेको बताएका छन् । यसका साथै समस्याबारे सचेत भएको र आफ्ना ग्राहकहरूको प्रणालीहरूलाई सुरक्षित रूपमा अनलाइन फिर्ता ल्याउन क्राउड स्ट्राइकसँग काम गरिरहेको बताएका छन् ।
Yesterday, CrowdStrike released an update that began impacting IT systems globally. We are aware of this issue and are working closely with CrowdStrike and across the industry to provide customers technical guidance and support to safely bring their systems back online.