काठमाडौं । एन्टिभाइरस कम्पनी क्राउडस्ट्राइकको फाल्कन एन्टिभाइरस सफ्टवेयरको अपडेटमा समस्या आउँदा विश्वभरका ८५ लाख विन्डोज डिभाइस प्रभावित भएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले हालै जारी गरेको विज्ञप्तिमा शुक्रबार आएको नयाँ अपडेट इन्स्टल गर्दा 'ब्लु स्क्रिन अफ डेथ'को समस्या देखा परेको उल्लेख गरेको छ ।
यो समस्यालाई इतिहासकै सबैभन्दा खराब साइबर घटनामा रूपमा हेरिएको छ । विशेषगरी कम्पनीले परीक्षण नै नगरी विश्वव्यापी रूपमा बिग्रिएको सफ्टवेयर अपडेट (करप्टेड सफ्टवेयर अपडेट) पठाएकाले यस्तो समस्या आएको बताइएको छ ।
माइक्रोसफ्टका उपाध्यक्ष डेभिड वेस्टनका अनुसार प्रभावित प्रयोगकर्ताहरू कुल प्रयोगकर्ताको एक प्रतिशत मात्र हुन् । तर, यसले ठूला कम्पनीहरूमा गम्भीर आर्थिक र सामाजिक समस्या निम्त्याएको छ ।
माइक्रोसफ्टले यो समस्यालाई समाधान गर्न आफ्ना प्रयोगकर्तालाई सघाइरहेको र तेस्रो पक्षको कम्पनी अपडेटमा संवेदनशील हुनुपर्ने कुरा पनि सतहमा ल्याएको जनाएको छ । वेस्टनका अनुसार सुरक्षित तैनाथी र डिजास्टर रिकभरीलाई प्राथमिकता दिनु महत्त्वपूर्ण छ ।
“टेक इकोसिस्टममा अवस्थित संयन्त्रहरू प्रयोग गरेर सुरक्षित तैनाथी र डिजास्टर रिकभरीसँग सम्बन्धित कामलाई प्राथमिकता दिनु कत्तिको महत्त्वपूर्ण छ भन्ने कुराको जनाउ पनि हो यो,” वेस्टनले ब्लगमा भनेका छन् ।
यस घटनाले सन् २०१७ मा भएको वान्ना क्राइ साइबर आक्रमणको सम्झना गराएको छ, जसमा १५० देशका तीन लाख बढी कम्प्युटर प्रभावित भएका थिए ।