काठमाडौं । कम्प्युटर सिस्टम, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ र डेटा प्रोसेसिङ सम्बन्धी अध्ययन गरिने शैक्षिक कार्यक्रम हो- कम्प्युटर इन्जिनियरिङ । यो कार्यक्रमले विद्यार्थीहरूलाई कम्प्युटर प्रणालीको डिजाइन, विकास र व्यवस्थापनको ज्ञान र कौशल प्रदान गर्दछ ।
नेपालमा विद्यालय तहदेखि नै कम्प्युटर सम्बन्धी पाठ्यक्रम सञ्चालनमा आएपनि स्नातक तहमा विशिष्टिकृत कार्यक्रमका रूपमा गहिराइमा यस सम्बन्धी अध्ययन अध्यापन हुन्छ ।
कम्प्युटर इन्जिनियरिङ सम्बन्धी पाठ्यक्रम विश्वविद्यालयहरू अनुसार फरक फरक हुन सक्छन् । नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडाैं विश्वविद्यालय, पाेखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ सञ्चालन भइरहेको छ ।
किन पढ्ने ?
कम्प्युटरलाई आधुनिक युगको सहयात्री भन्ने गरिन्छ । यो उपकरणले हाम्रो दैनिकी नै परिवर्तन गरिदिएको छ । केही दशकअघिसम्म घरमा कम्प्युटर हुनु प्रतिष्ठाको विषय थियो । अहिले आवश्यकताको रूपमा यसलाई लिइन्छ । प्रविधिमा भएको चरम विकासका कारण यसको महत्त्व दिनानुदिन बढ्दाे छ ।
कम्प्युटर र यससँग सम्बन्धित क्षेत्रमा नयाँ-नयाँ खोज अनुसन्धान भइरहेका छन् भने अवसरको दायरा पनि फराकिलो बनेको छ । विश्वभर नै कम्प्युटर अथवा यस क्षेत्रसम्बन्धी ज्ञान भएका दक्ष जनशक्तिको उच्च माग भइरहँदा विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाले प्रविधि सम्बन्ध फरक फरक कोर्स चलाएका छन् ।
ती मध्येकै एउटा कोर्स हो, कम्प्युटर इन्जिनियरिङ । मूलतः यो कोर्सलाई कम्प्युटर साइन्स र इलेक्ट्रिकल इन्जिनियरिङको मिश्रण पनि भनिन्छ । किनकि कम्प्युटर इन्जिनियरिङमा हार्डवेयर तथा सफ्टवेयर दुवै विषयको अध्यापन हुन्छ । अझ अलि विस्तृतमा भन्दा हार्डवेयर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, सफ्टवेयर प्रोग्रामिङ, रोबोटिक्स, नेटवर्किङ जस्ता विषय पढ्नुपर्छ ।
यही कारण झट्ट हेर्दा कम्प्युटर इन्जिनियरिङ एउटा विषय जस्तो देखिए पनि यसमा विभिन्न विषय मिसिएका हुन्छन् । जसले गर्दा कोर्स उत्तीर्ण गरेका विद्यार्थीहरूलाई फराकिलो अवसर मिल्छ ।
विशेषगरी यस विषय पढेका जनशक्तिको काम विभिन्न कम्प्युटर सिस्टम अथवा नेटवर्कको डिजाइन, डेभलप र मेन्टेन गर्नु हो । कम्प्युटर इन्जिनियरको तलबमान उच्च हुनु, समाजमा प्रतिष्ठा हुनु, अर्थपूर्ण काम हुनु, कामका विभिन्न अवसर हुनु यसका सकारात्मक पाटा हुन् ।
यदि तपाईंलाई कम्प्युटरप्रति रुचि छ र अहिलेको प्रविधिमय विश्व बनाउने एक हिस्सा बन्न चाहनुहुन्छ भने कम्प्युटर इन्जिनियरिङ एउटा विकल्प हुन सक्छ । त्यसमाथि यसले अनेकन् क्षेत्रमा पनि अवसर प्रदान गर्छ । यसको अध्ययनपछि निम्न भूमिकामा आबद्ध हुन सकिन्छ:
-कम्प्युटर आर्किटेक्ट
-सर्किट डिजाइनर
-कम्युनिकेसन इन्जिनियर
-नेटवर्क सिस्टम इन्जिनियर
-नेटवर्क आर्किटेक्ट
-सिस्टम प्रोग्रामर
-हार्डवेयर इन्जिनियर आदि ।
नेपालमा कम्प्युटर इन्जिनियरिङ
हामीले माथि चर्चा गरिसक्यौं, नेपालमा यो शैक्षिक कार्यक्रम आधा दर्जन विश्वविद्यालयले सञ्चालन गरेका छन् । अहिले सबैजसो विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका स्नातक तहमा भर्ना समेत खुलाएका छन् ।
-त्रिभुवन विश्वविद्यालय
यस विश्वविद्यालयमा यो कोर्स इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत सञ्चालन भइरहेको छ । त्रिविको कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न कक्षा ११/१२ वा सो सरहको तहमा ४५ प्रतिशत वा न्यूनतम सी ग्रेड प्राप्त गरेको हुनुपर्छ ।
यस विश्वविद्यालयको आफ्नो आङ्गिक तथा सम्बन्धनप्राप्त कलेज धेरै भएकाले पढ्ने ठाउँको विकल्प धेरै छ । आईओईका अनुसार यो कोर्स पढ्न नियमितमा (छात्रवृत्ति) ५६ हजार ७०० र पूर्ण शुल्कीयमा चार लाख ९० हजार रुपैयाँ लाग्छ ।
सम्बन्धन प्राप्त कलेजहरूले भने शुल्क केही बढी लिने गर्छन् ।
आईओईका पाँचमध्ये चार आङ्गिक क्याम्पसमा यो शैक्षिक कार्यक्रम पढाइ हुन्छ । जसमा पुल्चोक, पश्चिमाञ्चल, पूर्वाञ्चल र थापाथली क्याम्पस रहेका छन् । त्यस्तै १० सम्बन्धन प्राप्त कलेजमा पनि यो कार्यक्रमको अध्यापन हुन्छ ।
कलेजको नाम
कोटा
पुल्चोक क्याम्पस
३६+६० (नियमित+पूर्ण शुल्कीय)
पश्चिमाञ्चल क्याम्पस
१२+३६
पूर्वाञ्चल क्याम्पस
२४+७२
थापाथली क्याम्पस
१२+३६
कान्तिपुर इन्जिनियरिङ कलेज
९६
काठमाडौं इन्जिनियरिङ कलेज
९६
हिमालय इन्जिनियरिङ कलेज
४८
एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट
९६
नेसनल कलेज अफ इन्जिनियरिङ
४८
काठफोर्ड इन्स्टरनेस्नल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट
४८
जनकपुर इन्जिनियरिङ कलेज
४८
ख्वप: कलेज कफ कलेज अफ इन्जिनियरिङ कलेज
४८
सगरमाथा इन्जिनियरिङ कलेज
४८
ललितपुर इन्जिनियरिङ कलेज
४८
त्रिभुवन विश्वविद्यालयको कम्प्युटर इन्जिनियरिङबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
-काठमाडाैं विश्वविद्यालय
यस विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ कार्यक्रम स्कुल अफ इन्जिनियरिङ अन्तर्गत राखेको छ । यो चार वर्षे (आठ सेमेस्टर) १४३ क्रेडिट आवरको कोर्स हो, जसमा भर्ना हुन इच्छुक विद्यार्थीले ११/१२ कक्षामा कम्तीमा ५० प्रतिशत अथवा २.० सीजीपीए ल्याएको हुनुपर्छ ।
तर फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स (पीसीएम) अथवा फिजिक्स, केमेस्ट्री, बायोलोजी (पीसीबी) विषय अनिवार्य रूपमा पढेको हुनु पर्नेछ ।
विश्वविद्यालयका अनुसार यसमा विद्यार्थी सिट ६० र शुल्क नौ लाख १५ हजार रुपैयाँ रहेको छ । काठमाडाैं विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेज नभएकाले यो कोर्स विद्यार्थीले केन्द्रीय क्याम्पस धुलिखेलमा पढ्नु पर्ने हुन्छ ।
यस विश्वविद्यालयले पनि कम्प्युटर इन्जिनियरिङ कार्यक्रम आफ्नो स्कुल अफ इन्जिनियरिङ अन्तर्गत राखेको छ । चार वर्षे (आठ सेमेस्टर) १३० क्रेडिट आवरको यो कोर्स पोखरा विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त कलेजहरूमा अध्ययन गर्न सकिन्छ ।
यस विषयमा भर्ना हुन चाहने विद्यार्थीले कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स विषय लिई कम्तीमा ४५ प्रतिशत अथवा २.० सीजीपीए ल्याएको हुनुपर्छ ।
विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङका लागि पाँच लाख ८७ हजार रुपैयाँ शुल्क तोकेको छ । तर, सम्बन्धन प्राप्त कलेजहरूमा योभन्दा केही बढी शुल्क हुने गर्छ ।
हाल विश्वविद्यालयमा यो विषय केन्द्रीय क्याम्पस बाहेक नेपाल इन्जिनियरिङ कलेज, गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स, पोखरा इन्जिनियरिङ कलेज, लुम्बिनी इन्जिनियरिङ कलेज, राप्ती इन्जिनियरिङ कलेज, युनाइटेड टेक्निकल कलेजमा पढाइ भइरहेको छ ।
त्यस्तै युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, नेपाल कलेज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी, कस्मोस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, एभरेष्ट इन्जिनियरिङ कलेजमा पनि यो विषय पढाइ हुन्छ ।
पूर्वाञ्चल विश्वविद्यालयमा पनि स्कुल अफ इन्जिनियरिङ अन्तर्गत कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालित छ । यो कार्यक्रममा भर्ना हुन ११/१२ कक्षामा म्याथ, फिजिक्स र केमेस्ट्री विषय लिई कम्तीमा ‘सी’ ग्रेड वा ३ वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन गरेका वा राष्ट्रिय परीक्षा बोर्ड प्राविधिकतर्फ (९-१२) का विद्यार्थीले २ सीजीपीए अथवा ४५ प्रतिशत अङ्क ल्याएको हुनुपर्ने छ ।
हाल विश्वविद्यालयअन्तर्गतको एउटा आङ्गिक तथा सात ओटा सम्बन्धनप्राप्त कलेजहरूमा कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको छ ।
विराटनगरको पुसेट इन्जिनियरिङ क्याम्पसबाहेक सम्बन्धन प्राप्त कलेजहरू एक्मी इन्जिनियरिङ कलेज, कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङ (सीआईटीई), इस्टर्न कलेज अफ इन्जिनियरिङमा यो शैक्षिक कार्यक्रमकाे अध्यापन भइरहेको छ ।
त्यस्तै हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, कान्तिपुर सिटी कलेज, कान्तिपुर इन्टनेसनल कलेज, ख्वप: इन्जिनियरिङ कलेज, पाथिभारा सेन्टर फर एड्भान्स स्टडिजमा पनि पूर्वाञ्चल विश्वविद्यालकै कम्प्युटर इन्जिनियरिङ पढाइ हुने गरेको छ ।
यस विश्वविद्यालयमा यो कोर्स स्कुल अफ इन्जिनियरिङ अन्तर्गत रहेको छ, जसमा भर्ना हुन विद्यार्थीले ११/१२ कक्षामा कम्तीमा २ सीजीपीए तथा सी ग्रेड ल्याएको हुनुपर्छ ।
विश्वविद्यालयका अनुसार यो कोर्समा विद्यार्थी सिट २८ र शुल्क पाँच लाख ११ हजार रुपैयाँ रहेको छ ।
भर्ना हुने विद्यार्थीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, विरेन्द्रनगर, सुर्खेतमा अध्ययन गर्नुपर्ने हुन्छ ।
सुदूरपश्चिम विश्वविद्यालय
महेन्द्रनगर, कञ्चनपुरमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालयले पनि स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ सञ्चालन गरिरहेको छ । कक्षा ११/१२ मा सी ग्रेड अथवा ४५ प्रतिशत प्राप्ताङ्क ल्याएका विद्यार्थी यो शैक्षिक कार्यक्रम पढ्न योग्य हुन्छन्।
अहिले विश्वविद्यालयले आफ्नो केन्द्रीय क्याम्पसमा मात्र कम्प्युटर इन्जिनियरिङ सञ्चालन गरिरहेको छ ।
यहाँ पूर्ण शुल्कमा कम्प्युटर इन्जिनियरिङ पढ्न औसतमा चार लाख रुपैयाँ लाग्ने गर्छ ।