close

सामाजिक सञ्जालमा किन भाइरल भइरहेको छ यी खेलाडीको फोटो ?

टेकपाना टेकपाना

साउन १७, २०८१ १६:२५

सामाजिक सञ्जालमा किन भाइरल भइरहेको छ यी खेलाडीको फोटो ?

काठमाडौं । अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा टर्कीका खेलाडी युसुफ डिकेजको फोटो भाइरल छ । जारी पेरिसमा ओलम्पिक २०२४ मा १० मिटर एयर पिस्तोलको प्रतिस्पर्धाका क्रममा खिचिएको डिकेजको फोटो भाइरल भइरहेको हो । 

५१ वर्षीय डिकेज र उनकी पार्टनर सेभ्भल इलाइदा तर्हानले यो प्रतिस्पर्धामा रजत पदक जिते । तर, डिकेज आफ्नो पिस्तोल शुट गर्ने शैलीले विश्वभर चर्चाको विषय बनेका छन् । 

फोटोमा उनी आनन्दका साथ शुट गरिरहेका देखिन्छन् । प्रतियोगितामा सहभागी अरू प्रतिस्पर्धीले एउटा आँखालाई बन्द गर्ने ग्लास, कानमा हेडफोन र अन्य गियर्स लगाएका थिए । तर, डिकेज भने सामान्य शैलीमा शुट गर्ने ठाउँमा प्रवेश गरेका थिए ।

एउटा हात गोजीमा राखेर उनले आरामका साथ अर्को हातले शुट गरेका देखिन्छ । उनी उभिएको शैली पनि निकै सामान्य छ । उनले त्यसरी कुनै स्थान मिलाएका छैनन् । उनको शैलीलाई अर्बपति उद्यमी एलन मस्कले समेत तारिफ गरेका छन् । 

चर्चामा आएका डिजेकले ओलम्पिकमा पाँच पटक टर्कीलाई प्रतिनिधित्व गरिसकेका छन् ।

सन् २०१४ मा उनी डबल वर्ल्ड च्याम्पियनशिप बनेका थिए । त्यसबेला उनी २५ मिटर स्टान्डर्ड पिस्तोल र २५ मिटर सेन्टर फायर पिस्तोल प्रतिस्पर्धामा विजयी भएका थिए । त्यसबेला १० मिटर एयर पिस्तोलमा रजत पदक प्राप्त गरेका थिए ।

सन् २०२४ को युरोपेली च्याम्पियनशिपमा उनले सात ओटा टाइटल जितेका थिए ।

 

पछिल्लो अध्यावधिक: साउन १७, २०८१ १६:४५