काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ईसेवाले एप अपडेट भइरहेकाले गुगल प्लेस्टोरमा अस्थायी रूपमा एप उपलब्ध नभएको जानकारी दिएको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले नयाँ विवरण अपडेट भइरहेको कारण केही समयका लागि प्लेस्टोरमा एप नदेखिएको जनाएको छ ।
यस अनुसार कम्पनीको नाम ईसेवा प्रालिबाट ईसेवा लिमिटेडमा परिवर्तन भएका कारण कम्पनीको विवरण डीयूएनएस (डेटा युनिभर्सनल नम्बरिङ सिस्टम)मा अपडेट भइरहेको छ । यसैकारण ईसेवा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको कम्पनीले उल्लेख गरेको छ ।
"ईसेवा प्रालि केही समयअघि ईसेवा लिमिटेड भएसँगै, उक्त विवरण DUNS (Data Universal Numbering System) मा अपडेट गर्ने क्रममा रहेका छौं । त्यसैकारण ईसेवा एप केही समयको लागि अस्थायी रुपमा प्लेस्टोरमा उपलब्ध नहुने व्यहोरा जानकारी गराउन चाहन्छौं," सूचनामा भनिएको छ ।
डाउनलोड भइसकेका एपहरू भने सामान्य रूपमा काम गरिरहेको तथा आईओएस प्रयोगकर्ताहरूलाई यसले कुनै समस्या नपारेको कम्पनीले जनाएको छ ।
"यसबाट पर्न जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र तपाईंको धैर्यधारण र सहयोगको अपेक्षा गर्दछौं," कम्पनीले सूचनामा भनेको छ ।