काठमाडौं । कहिलेकाहीँ पीडीएफ फाइलमा हस्ताक्षर गरेर पठाउनुपर्ने हुन सक्छ । केही समय अघिसम्म डकुमेन्ट प्रिन्ट गरेर भौतिक रूपमै हस्ताक्षर गर्नुपर्ने बाध्यता थियो । आजकल त्यस्तो झन्झट गरिरहनु पर्दैन ।
तपाईंले विद्युतीय माध्यममार्फत नै पीडीएफमा हस्ताक्षर संलग्न गर्न सक्नुहुन्छ । यसका लागि केही टुल उपलब्ध छन् । धेरैले यसका लागि एडोबीको एक्रोब्याट रिडर (Adobe Acrobat Reader) सफ्टवेयर प्रयोग गर्छन् ।
यस सफ्टवेयरको मोबाइल एपबाट नि:शुल्क रूपमा पीडीएपमा हस्ताक्षर राख्न सकिन्छ । डेस्कटपमा भर्सनमा भने थोरै शुल्क तिर्नुपर्ने हुन्छ । तर, यही काम अनलाइनमार्फत गर्न भने एडोबीले नि:शुल्क बनाएको छ ।
आज हामी यस टुल प्रयोग गरेर पीडीएफमा हस्ताक्षर राख्ने तरिका सिकाउँदै छौं:
-एडोबी एक्रोब्याटको मोबाइल एप (Adobe Acrobat Reader) डाउनलोड गर्नुहोस् । यो एप आईओएस तथा एन्ड्रोइड दुवैमा डाउनलोड गर्न सकिन्छ ।
-हस्ताक्षर गर्नुपर्ने पीडीएफ फाइल खोल्नुहोस् ।
- ‘फिल एन्ड साइन’ मा ट्याप गर्नुहोस् । जुन स्क्रिनको तल्लो भागमा भएको टुलबारमा देखिन्छ ।
-अब कलम जस्तो देखिने आइकनमा क्लिक गर्नुहोस् ।
-'एड सिग्नेचर'मा क्लिक गर्नुहोस् । यसपछि हस्ताक्षर बनाउन तपाईंले हात वा स्टाइलस प्रयोग गर्न सक्नुहुन्छ । अथवा, यसअघि तपाईंले खिचेको आफ्नो हस्ताक्षरको फोटो अपलोड गर्न सक्नुहुन्छ । (यसका लागि खाली पानामा हस्ताक्षर गरेर आफ्नै स्मार्टफोनबाट खिच्न सक्नुहुन्छ)
-यति गरेपछि माथिल्लो दायाँ भागमा भएको 'डन'मा क्लिक गर्नुहोस् । उक्त हस्ताक्षरलाई तपाईंले यताउता चलाएर राख्नुपर्ने ठाउँमा राख्न सक्नुहुन्छ ।
फोनमा पर्याप्त स्टोरेज छैन भने तपाईंले अनलाइन टुलहरू प्रयोग गर्न सक्नुहुन्छ । जसमा आई लभ पीडीएफ, स्मल पीडीएफ, एडोबी लगायतका टुल छन् ।