close

स्कुले विद्यार्थीका लागि राष्ट्रिय स्तरको ‘कोडिङ कम्पिटिसन’ हुँदै

टेकपाना टेकपाना

भदौ १, २०८१ १९:४२

स्कुले विद्यार्थीका लागि राष्ट्रिय स्तरको ‘कोडिङ कम्पिटिसन’ हुँदै

काठमाडौं । बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन हुने भएको छ । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा हुने कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ ।

कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ ।

कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत नि:शुल्क सिकाउनेछन् ।

योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ । अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ । त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ ।

यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन नि:शुल्क पाउनेछन् । साथै, नेपाल विजेताले म्याकबुक, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ ।

“कोडिङले बालबालिकालाई प्रविधिको संसार अन्वेषण गर्ने अवसर प्रदान गर्छ र भविष्यका करियरहरूमा उपयोगी हुन सक्ने सीपहरू सिक्न मद्दत पुर्‍याउँछ । यसकारण यस्ता सीपहरूको विकास प्रारम्भिक उमेरदेखि नै गरिनुपर्छ,” दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले भने ।

उनका अनुसार डिस्कभरी एजुकेसन कोडिङ प्लेटफर्मको माध्यमबाट सहभागीहरूले एल्गोरिदम, सिक्वेन्स, भेरिएबल्स जस्ता कोडिङ अवधारणाहरूमा गहिरो ज्ञान प्राप्त गर्नुका साथै कम्प्युटेशनल सोचाइ, तार्किक विचार र समस्या समाधानको सीप विकास गर्नेछन् ।

कम्पिटिसन क्याटेगोरी अन्तर्गत ​कक्षा २ – ५ का लागि कोडिङ प्रतियोगिता (ब्लक-आधारित कोडिङ) र कक्षा ६ – ९ का लागि कोडिङ प्रतियोगिता (पाइथन कोडिङ) हुने उनले बताए ।

आयोजकका अनुसार विद्यार्थीले ६ सेप्टेम्बरभित्र अनलाइन रजिस्ट्रेसन गर्नुपर्छ । अनलाइन रजिस्ट्रेसन गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८१ २१:२४