काठमाडौं । क्यालिग्राफी सिक्न चाहनेका लागि ‘लेट्स कलर क्यालिग्राफी’ (Lets Color Calligraphy) नामक एप सार्वजनिक भएको छ । शनिबार क्यालिजात्रा र नेपाल क्यालिग्राफीद्वारा आयोजित ‘नेपाल क्यालिग्राफी फेस्टिवल २०२४’ को अवसरमा एप सार्वजनिक गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल र क्यालिजात्रा संस्थाका अध्यक्ष आनन्दकुमार महर्जनले लाइभ क्यालिग्राफी गरेर एपको औपचारिक सुरुवात गरे । नेपाली लिपि र अक्षर कलालाई डिजिटल माध्यमबाट सिक्न र अभ्यास गर्न चाहनेहरूका लागि यो एप उपयोगी हुने महर्जनले बताए ।
विज्ञान प्रजापतिको नेतृत्वमा एप 'बौचा ओ मैचा' नामक युवाको संगठनले यो एप विकास गरेको हो । एपमा उपलब्ध नेपाली लिपि, अक्षर डिजाइन र कलात्मक शैलीले प्रयोगकर्तालाई नेपाली क्यालिग्राफीको क्षेत्रमा आफ्नो सीप सुधार्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
अहिले यो एप एन्ड्रोइडमा मात्र उपलब्ध छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एप डाउनलोड गरिसकेपछि 'ब्ल्याङ्क' र 'प्राक्टिस' मोड गरी दुई ओटा अप्सन देखिन्छ । त्यसमध्ये ब्ल्याङ्क पेज छानियो भने खाली क्यान्भास खुल्छ । त्यसमा आफूलाई उपयुक्त साइज छान्नुपर्ने हुन्छ । त्यसपछि कलर, पेन स्टाइल छानी आफूले चाहेको नेपाली अक्षर लेख्न सक्नुहुन्छ । क्यालिग्राफीमा कुन अक्षर कस्तो हुन्छ, अनि कसरी लेख्ने भनेर एपबाटै जानकारी लिन मिल्छ ।
त्यस्तै प्राक्टिस मोडमा रञ्जना लिपि, ल्याटिन र नेपाल लिपि गरी तीन स्टाइलका अक्षरको अभ्यास गर्न सकिन्छ ।
‘बौचा ओ मैचा’ले सार्वजनिक गरेको यो पाँचौं एप हो । यसअघि पनि उक्त संस्थाले कलर गर्ने तथा अक्षर सिक्ने एपहरू ल्याएको थियो ।