काठमाडौं । मङ्गलबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान चलेको छ । फेसबुक, टिकटक र एक्स (ट्वीटर) मा हेर्ने हो भने प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने विषयमा बनेका कैयौं पोस्टर फैलिरहेका छन् ।
केहीले सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘किन अनफलो गर्ने ?’ भन्ने विषयमा भिडिओ नै बनाएका छन् ।
फलोअर ट्रयाकिङ प्लेटफर्म सोसल ब्लेडका अनुसार मङ्गलबार बेलुकीसम्म ओलीको आधिकारिक फेसबुक पेजमा छ लाख ३२ हजार फलोअर थिए । यो समाचार तयार पार्दासम्म उनको पेजमा फलोअरको सङ्ख्या घटेर पाँच लाख ९६ हजार पुगेको छ ।
सँगसँगै प्रधानमन्त्री ओलीका समर्थकले उनलाई फेसबुक पेजमा फलो गर्ने अभियान पनि चलाएका छन् । जसले गर्दा फलोअरको सङ्ख्या घट्ने र बढ्ने भइरहेको देखिन्छ ।
किन सुरु भयो प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो गर्ने अभियान ?
आइतबार मेयर बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा प्रदेश सांसद रेखा कुमारी शर्मालाई कारबाही गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका थिए । इन्टरनेटमा उक्त पोस्टले निकै चर्चा पाइरहेको थियो । त्यसपछि एकाएक सोमबार बालेनको पेजबाट उक्त पोस्ट गायब भयो ।
यही विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका थिए । बालेन सचिवालयले भने पोस्टमा अत्यधिक रिपोर्ट आएपछि फेसबुकले हटाइदिएको प्रतिक्रिया दियो ।
त्यसपछि मङ्गलबार दिउँसो एक पोस्ट राख्दै बालेनले ‘पोस्ट उडाउने होइन, दोषीलाई समाऊ सरकार’ भन्दै पोस्ट गरे । उक्त पोस्ट आएपछि प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान तीव्र भएको हो ।
यो मेसोमा ओली, एमाले तथा सरकारसँग असन्तुष्ट व्यक्तिहरू पनि थपिएका छन् । तर यस्ता अभियान अस्थायी तथा क्षणिक हुने गरेका छन् । कुनै विशेष घटना वा परिस्थितिको कारणले निराशा पैदा गर्दा यस्ता अभियान चल्ने र केही समयपछि निष्क्रिय हुने गरेको पाइन्छ ।
केही महिनाअघि नेपालका केही सञ्चारमाध्यमका सामाजिक सञ्जाल पेजकाे रेटिङ घटाउनेदेखि अनलाइक र अनफलो गर्ने प्रवृत्ति देखिएको थियो ।