close

सडकमा ट्राफिक जाम छ/छैन ? यात्रामा निस्किनु अघि यसरी हेर्नुहोस् आफ्नै मोबाइलमा

टेकपाना टेकपाना

भदौ २९, २०८१ १०:२१

सडकमा ट्राफिक जाम छ/छैन ? यात्रामा निस्किनु अघि यसरी हेर्नुहोस् आफ्नै मोबाइलमा

काठमाडौं । सवारी साधनमा यात्रा गर्दा सबैभन्दा असहज र तनावपूर्ण अवस्था के होला ? पक्कै पनि ट्राफिक जाममा फस्नु नै हो । यो कुनै नौलो कुरा होइन, काठमाडौंजस्ता सहरमा त झन जाम एउटा 'डेली रुटिन' जस्तै भइसक्यो ।

यात्राको क्रममा अचानक जाममा फस्दा ट्याक्सीमा मिटर बढ्दै जान्छ, बाइकमा समय बर्बाद हुन्छ, अनि बसमा पर्खाइले दिक्क लाग्छ । तर फोनबाटै तपाईँले ट्राफिकको स्थिति पहिल्यै थाहा पाएर वैकल्पिक मार्ग रोज्न सक्नुहुन्छ । जाममा फस्नुपर्ने तनावबाट मुक्त हुनका लागि यो नै स्मार्ट तरिका हो । 

गुगल म्याप्स 

लोकप्रिय एपमध्ये एक हो, गुगल म्याप्स। तपाईं जहाँ जान चाहनुहुन्छ, लोकेसन टाइप गरेर रुट हेर्नुहोस् । यदि जामको समस्या छ भने गुगलले तपाईंलाई रातो रङमा देखाउँछ। हल्का जाम छ भने सुन्तला रङ र कुनै जाम छैन भने हरियो रङमा मार्ग देखाइन्छ । नजिकका सबै रुटहरू, वैकल्पिक बाटो र समयमा पुग्नसक्ने विकल्प पनि गुगल म्याप्सले सजिलै देखाउँछ ।

एप्पल म्याप्स

आईफोन प्रयोगकर्ताहरूका लागि अर्को सुविधा छ, एप्पल म्याप्स । यो एपमा तपाईंको गन्तव्य टाइप गरेर ‘कार’ आइकन ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले जामबिना यात्रा गर्न मिल्ने बाटो र त्यसमा लाग्ने समय देख्न सक्नुहुन्छ । एप्पल म्याप्सलाई प्रिइन्स्टल गरिएको हुन्छ, तर छैन भने एप्पल स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुन्छ ।

वाज (Waze)

वाज एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । नेपालमा तुलनात्मक रूपमा यसका प्रयोगकर्ता कम छन् । तर यसमा पनि ट्राफिक जाम कुनकुन स्थानमा भइरहेको छ भने हेर्न सकिन्छ । यसका लागि पनि सर्चबारमा गई स्थानको नाम टाइप गर्नुहोस् । त्यसपछि त्यहाँसम्म पुग्ने बाटोको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

माथि उल्लिखित सबै एपमा लोकेसन नराखेर पनि कुनकुन स्थानमा सडकको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ । साथै कुनै पनि सर्च इन्जिन (गगल, बार्ड आदि)मा ‘ट्राफिक जाम’ भनेर सर्च गर्न सक्नुहुन्छ । यदि कुनै पनि सडकमा अत्यधिक जाम छ भने स्वतः रातो देखिन्छ । 

त्यस्तै तपाईंले नेपाल ट्राफिक प्रहरीलाई १०३ मा कल गरेर पनि सडकको अवस्थाबारे सोध्न सक्नुहुन्छ । उसैगरी राजधानीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर अथवा ट्राफिक प्रहरीको वेबसाइटमार्फत पनि जामको अवस्थाबारे थाहा पाउन सक्नुहुन्छ । हाल प्रहरीको एप तथा सामाजिक सञ्जालबाट जामको अवस्था हेर्न सकिँदैन ।

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८१ १०:२८