close

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै सर्वोच्चमा रिट दायर

टेकपाना टेकपाना

भदौ ३०, २०८१ १३:४

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । कानुनका दुई विद्यार्थी अनिल कुमार साह र विवेक चौधरीले अदालतका बहसहरूको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । न्यायिक प्रक्रियालाई जनताको पहुँचसम्म पुर्‍याउन प्रत्यक्ष प्रसारण आवश्यक भएको तर्क गर्दै उनीहरूले आइतवार रिट दर्ता गरेका हुन् । ​​

अदालतको कार्यवाहीलाई प्रत्यक्ष प्रसारण गर्दा न्यायिक पारदर्शिता हुने विद्यार्थीहरूको भनाइ छ । खुला सुनुवाइ गर्ने अदालतले खुला सञ्चारलाई स्वीकार गर्नुपर्ने र खुला सञ्चारलाई स्वीकार गर्दा प्रत्यक्ष प्रसारणलाई समेत स्वीकार गर्नुपर्ने उनीहरूले उल्लेख गरेका छन् ।​ ​

“अदालतको कार्यवाहीको लाइभ स्ट्रिमिङले नागरिकलाई न्यायिक प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने अवसर दिन्छ, जसले नागरिक र न्याय प्रणालीबीचको दूरी घटाउँछ,” रिट निवेदनमा लेखिएको छ ।

यस रिट निवेदनको सुनुवाइ भोलि सोमवार हुनेछ ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८१ १३:११