काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक खरिद गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार सञ्चार माध्यमलाई स्पष्टीकरण पठाउँदै आईएसपी कम्पनी खरिद गरिसकेको विषय अनुमानमा आधारित मात्र भएको जनाएको हो ।
"एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको जानकारी गराउन चाहन्छौँ," स्पष्टीकरणमा भनिएको छ । एनसेलका अनुसार ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी भइरहेको र यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गरिनेछ ।
यो मामिलासँग सम्बद्ध स्रोतका अनुसार क्लासिक टेक खरिद गर्ने विषयमा आपसी छलफल र मूल्याङ्कनका कार्यहरू टुङ्गिन बाँकी छन् । त्यसपश्चात् नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने एनसेलको भनाई छ ।
एनसेलले नेपालमा आफ्ना सेवाहरू विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिने कुरा समेत उल्लेख गरेको छ । "एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैँ पारदर्शिता र सबै सरोकारवालाहरू माझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ," कम्पनीले भनेको छ ।
"विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्ने नै छौँ । हाम्रा निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहक वर्ग र सरोकारवालाहरूसँग सम्बन्धित हुने भएकोले हामीसँग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिनु हुन सञ्चार माध्यमहरूलाई अनुरोध गर्दछौँ ।"