close

अल्टिमाले ल्यायो रग्ड स्मार्टवाचदेखि घरमै सिनेमा हलको अनुभव दिने वेभबार स्पिकर

टेकपाना टेकपाना

असोज ८, २०८१ १३:३४

अल्टिमाले ल्यायो रग्ड स्मार्टवाचदेखि घरमै सिनेमा हलको अनुभव दिने वेभबार स्पिकर

काठमाडौं । नेपाली ब्राण्ड अल्टिमा लाइफस्टाइलले बजारमा पाँच नयाँ उत्पादन सार्वजनिक गरेको छ । असोज ९-२२ गतेसम्म सञ्चालन हुने अल्टिमा दशैं मेलालाई लक्षित गर्दै कम्पनीले नयाँ मोडेलका स्मार्टवाच, वेभबार स्पिकर, पावरबैंक, वायरलेस स्पिकर र इयरबड्स सार्वजनिक गरेको हो । यी उत्पादनको मूल्य भने खुलाइएको छैन ।

१‍ अल्टिमा वाच एक्टिभ

अल्टिमा लाइफस्टाइलले साहसिक यात्रामा रुचि राख्नेहरूका लागि आफ्नो पहिलो रग्ड स्मार्टवाच 'अल्टिमा वाच एक्टिभ' सार्वजनिक गरेको छ । यो स्मार्टवाच विशेष रूपमा कठोर परिस्थितिहरूमा टिकाउ हुनेगरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

अल्टिमा वाच एक्टिभले आईपी६८ (IP68) प्रमाणपत्र पाएको छ, जसले यसलाई धुलो र पानीबाट सुरक्षा दिन्छ । ​कम्पनीका अनुसार  प्रिमियम जिंक अलाय फ्रेम र हार्ड प्लास्टिक र सिलिकन स्ट्र्यापसहित यो स्मार्टवाच बनाइएको हो ।

यसमा १.४३ इन्चको टीआरयू एमोलेड डिस्प्ले छ, जसमा ४६६x४६६ पिक्सेल रेजोलुसन र १००० निट्ससम्मको ब्राइटनेस पाउन सकिन्छ ।

सामान्य प्रयोगमा स्मार्टवाचमा लगभग सात दिनको ब्याट्री लाइफ पाउन सकिन्छ, जसलाई साढे दुई घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसले चाैबिसै घण्टा प्रयोगकर्ताको हर्ट रेट, अक्सिजनमा रगतको मात्रा मापन गर्ने, तनाव निगरानी लगायतका काम समेत गर्ने बताइएको छ ।

कम्पनीले यो स्मार्टवाचमा एक वर्षको ग्यारेन्टी उपलब्ध गराएको छ ।

२. वेभबार सिरिज

अल्टिमाले वेभबार १२० र वेभबार २०० स्पिकरहरू प्रस्तुत गरेको छ । यी स्पिकरले ग्राहकलाई घरमै थियटर अनुभव दिने कम्पनीको दाबी छ । १२० वाट र २०० वाटका यी स्पिकरहरूले उत्कृष्ट बाससहितको थ्रीडी साउन्ड अनुभव प्रदान गर्नेछन् ।

विशेष रूपमा चलचित्र र संगीत प्रेमीहरूका लागि वेभबार सिरिज ल्याएको कम्पनीले जनाएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी,‍ आरएमएस सपोर्टजस्ता विशेषता पनि छन् । 

यी स्पिकरमा अल्टिमा सुप्रिम साउन्ड टेक्नोलोजी प्रयोग गरिएको छ । कम्पनीले वेभबार सिरिजमा पनि एक वर्षको ब्राण्ड वारेन्टी दिएको छ ।

३. बुस्ट पावरबैंक सिरिज

पावरबैंकको क्षेत्रमा कम्पनीले नयाँ संस्करण ल्याएको छ, जसमा म्यागसेफ वायरलेस चार्जिङ, २२.५ वाटको पावर आउटपुट र १०,००० एमएएच क्षमताको ब्याट्री सहित मिनी, प्रो र अल्ट्रा संस्करणहरू उपलब्ध छन् ।

प्रो संस्करणमा २०,००० एमएएच र ३०,००० एमएएच  ब्याट्री क्षमता छ, जबकि अल्ट्रा संस्करणमा ६५ वाट चार्जिङ सपोर्ट र २०,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ । सबै पावरबैंकमा कम्पनीले लि-पोलीमर रिचार्जेबल ब्याट्री प्रयोग गरेको छ ।

यी पावरबैंकले फास्ट चार्जिङसहित दुई वा सोभन्दा बढी डिभाइसमा चार्जिङ सपोर्ट प्रदान गर्ने भएकाले प्रयोगकर्ताका डिभाइस कहिल्यै ब्याट्री सकिएर बन्द नहुने कम्पनीले उल्लेख गरेको छ । त्यस्तै यसमा पावरबैंक र डिभाइस एकैचोटि चार्ज गर्न सकिन्छ । यसमा ६ महिनाको ब्राण्ड वारेन्टी दिइएको छ ।

४. साउन्डबक्स सिरिज

अल्टिमाले यो वर्ष ठूलो स्पिकर श्रेणीमा प्रवेश गर्दै साउन्डबक्स एस२० र साउन्डबक्स एस५० नामका नयाँ स्पिकरहरू बजारमा ल्याएको छ । यी स्पिकरहरू क्रमशः २० वाट र ५० वाट पावर आउटपुटका साथ उपलब्ध छन् ।

साउन्डबक्स सिरिजका यी स्पिकरहरू उच्च गुणस्तरको वायरलेस स्टेरियो स्पिकर भएको कम्पनीको दाबी छ । यसको एर्गोनोमिक डिजाइनले यी स्पिकरहरूलाई सजिलै ओसार्नका लागि उपयुक्त बनाएको छ। 

साउन्डबक्स एस२० र एस५० वायरलेस स्पिकरहरू प्रिमियम साउन्ड क्वालिटी र पानी प्रतिरोधी विशेषतासहितको पोर्टेबल स्पिकर हुन् । यसमा एक वर्षको ब्राण्ड वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिइएको छ ।

५‍ अल्टिमा प्राइम १.०

अल्टिमाले आफ्नो सबैभन्दा प्रिमियम इयरबड्सका रूपमा अल्टिमा प्राइम १.० ल्याएको छ । कम्पनीका अनुसार यसले उच्च गुणस्तरको हाई-फाई अडियो अनुभव प्रदान गर्छ । यसमा ६० घण्टासम्मको ब्याट्री लाइफ, दुईवटा ईक्यू मोडहरू सहित एप सपोर्टको सुविधा पनि छ । कम्पनीले यो इयरबड्समा ६ महिनासम्मको ब्राण्ड ग्यारेन्टी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८१ १३:९