काठमाडौं । एप्पलले प्रत्येक वर्ष सार्वजनिक गर्ने आईफोन डिभाइस विश्वभर चर्चाको विषय बन्छन् । यो वर्षको आईफोन १६ सिरिजले पनि व्यापक चर्चा पाइरहेको छ । आईफोन १६ सिरिजमा कम्पनीले केही महत्त्वपूर्ण हार्डवेयर र सफ्टवेयर परिवर्तन गरेको छ ।
यो सिरिज गत शुक्रबारदेखि विभिन्न देशमा बिक्रीका लागि उपलब्ध भएको छ । योसँगै विभिन्न युट्युबरहरूले यसको मजबुती (ड्युराबिलिटी) परीक्षण गर्न थालेका छन् । ‘जेरी रिग एभ्रिथिङ’ नामक युट्युबर यस्तो टेस्टका लागि चर्चित छन् । उनले यस वर्ष आईफोन १६ प्रो म्याक्सको जाँच गरेका छन् ।
गत वर्ष जेरीले परीक्षण गरेको आईफोन १५ प्रो म्याक्स ड्युराबिलिटी टेस्टमा असफल भएको थियो । फोन दोब्य्राउने बित्तिकै पछाडिको ग्लास फुटेको थियो । जुन पछि आलोचनाको विषय पनि बन्यो । तर, यस पटकको आईफोन १६ प्रो म्याक्सको अवस्थामा सुधार भएको देखिएको छ ।
ड्युराबिलिटी परीक्षण
जेरीले आईफोन १६ प्रो म्याक्सको अनबक्सिङपछि पहिलो परीक्षण फोनसँगै प्राप्त टाइप-सी टु टाइप-सी केबलबाट सुरु गरेका थिए । त्यसपछि उनले फोनको क्यामेरा कन्ट्रोल बटनको जाँच गरे । उनले कडा किसिमको प्लास्टिकले बटनलाई कोतार्दा पनि कुनै गम्भीर स्क्र्याच नदेखिएको उनले बताएका छन् । उनका अनुसार यो बटनले लेभल ९ को दबाबमा मात्र स्क्र्याच गर्छ । यसले क्याप्चर बटन मजबुत भएको पुष्टि गरेको छ ।
ग्लास परीक्षण
एप्पलले यस संस्करणमा अघिल्लो वर्षको आईफोन १५ सिरिजभन्दा बढी शक्तिशाली ग्लास प्रयोग गरेको दाबी गरेको छ । तर, जेरीको परीक्षणमा भने छ लेभलमै ग्लासमा स्क्र्याच देखिएको छ । यसले आईफोनको ग्लासमा अझै सुधारको आवश्यकता भएको देखाएको छ ।
फ्रेम र बटन परीक्षण
हालको परीक्षणमा क्यामेरा कन्ट्रोल बटनमा खासै स्क्र्याच देखिएको छैन । तर फोनको फ्रेम र भोल्युम तथा एक्सन बटन सजिलै स्क्र्याच भएको कुरा भिडिओमा स्पष्ट देखिएको छ । केही बाह्य भागहरूमा अझै मजबुतीको आवश्यकता भएको जेरी रिगको सुझाव छ ।
आगो परीक्षण (फ्लेम टेस्ट)
त्यसपछि उनले फोनको स्क्रिनमा लाइटर बालेर आगो परीक्षण (फ्लेम टेस्ट) गरे । आईफोन १५ मा आगोले टचस्क्रिनमा समस्या देखाएको थियो । तर, आईफोन १६ मा त्यस्तो समस्या नदेखिएको जेरीले पुष्टि गरेका छन् ।
गत वर्षको आईफोन १५ दोब्य्राउँदा पछाडिको ग्लास फुटेको थियो भने यो पटक भने फोन बाङ्गिने वा ग्लास फुट्ने समस्या देखिएको छैन । कुल मिलाएर आईफोन १६ प्रो म्याक्सको ड्युराबिलिटी टेस्टमा सुधार भएको देखिएको छ । जेरी रिगले यसलाई ड्युराबिलिटी परीक्षणमा सफल मानेका छन् । तर, अझै केही भागहरूमा सुधार आवश्यक रहेको उनको टिप्पणी छ ।