close

कम पैसामै फोल्डेबल फोनको रहर पूरा गर्न चाहनेहरूका लागि इन्फिनिक्स जेरो फ्लिप, केके छन् फिचर ?

टेकपाना टेकपाना

असोज १३, २०८१ १०:५३

कम पैसामै फोल्डेबल फोनको रहर पूरा गर्न चाहनेहरूका लागि इन्फिनिक्स जेरो फ्लिप, केके छन् फिचर ?

काठमाडौं । फोल्डेबल फोनको बजारमा इन्फिनिक्स पनि प्रवेश गरेको छ । आफ्नो पहिलो फोल्डेबल फोन जेरो फ्लिपबाट इन्फिनिक्सले फोल्डेबल फोनको बजारमा इन्ट्री गरेको हो ।

कम्पनीले यस फोनमा क्लामसेल डिजाइन प्रयोग गरेको छ । जुन अहिले अन्य ब्रान्डहरूले उत्तिकै रुचाइरहेको डिजाइन हो । तर यस फोनमा धेरै कुरा इन्फिनिक्सको भगिनी कम्पनी टेक्नोले ल्याएको फ्यानटम भी फ्लिप टुसँग मिल्ने बताइएको छ ।

कस्तो छ इन्फिनिक्सको पहिलो फोल्डेबल फोन ? 

यसमा ६.९ इन्चको फुल एचडी एलटीपीओ एमोलेड डिस्प्ले दिइएको छ । जसमा १२० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ भने अधिकतम ब्राइटनेस १४०० निट्स रहेको छ । बाहिर पट्टि भने यसमा ३.६४ इन्चको एमोलेड कभर स्क्रिन दिइएको छ । 

यो सेकेन्डरी डिस्प्लेमा १०५२*१०६६ पिक्सेल रेजोलुसन र १२० हर्ज रिफ्रेश रेट पाउन सकिन्छ । कम्पनीका अनुसार यसमा कर्निङ गोरिल्ला ग्लास टु प्रयोग गरिएको छ । 

यो सेकेन्डरी डिस्प्ले नोटिफिकेसन हेर्न, म्युजिक कन्ट्रोल गर्न र सेल्फीका लागि भ्युफाइन्डको रूपमा उपयोगी हुने बताइएको छ ।

यसमा कम्पनीले डुअल क्यामेरा सेटअप दिएको छ । जसमध्ये अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै अल्ट्रावाइड क्यामेरा पाउन सकिन्छ । त्यसैगरी यसमा सेल्फी क्यामेरा पनि ५० मेगापिक्सेलकै रहेको छ । 

यी तीन ओटै क्यामेराबाट फोरके रेजोलुसनको भिडिओ खिच्न सकिन्छ । यसका साथै यस फोनबाट सोझैं गोप्रो कनेक्ट गर्न सकिन्छ । यसले गर्दा भ्लगर र कन्टेन्ट क्रियटरलाई यो फोन उपयुक्त हुने दाबी कम्पनीले गरेको छ । 

यो फोनको कूल तौल १९५ ग्राम रहेको छ । यसलाई फोल्ड गर्दा यसको मोटाइ १६ मिलिमिटर हुन्छ भने सामान्य अवस्थामा ७.६ मिलिमिटर । कम्पनीका अनुसार यो फोनमा फोल्ड गर्दा अथवा नगर्दा दुई स्क्रिनबिच खाली ठाउँ हुँदैन ।

फोनलाई ३० देखि १५० डिग्रीसम्म दोबार्न मिल्ने कम्पनीको भनाई छ । यसमा चिपसेट भने मिडियाटेक डाइमेन्सिटी ८०२० प्रयोग गरिएको छ । त्यसैगरी ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको यो फोन एन्ड्रोइड १४ मा आधारित एक्सओएस १४.५ मा चल्छ । यसमा कम्पनीले तीन वर्षसम्म सफ्टवेयर अपडेट दिने बताएको छ । 

ब्याट्रीको कुरा गर्नु पर्दा फोनमा ४,७२० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।  जसलाई चार्ज गर्न ७० वाटको फास्ट चार्जिङ दिइएको छ ।

हाललाई यो फोन सीमित देशमा रक ब्ल्याक र ब्लजम ग्लो गरी दुई रङमा उपलब्ध गराइएको छ । यसको मूल्य ६४५ डलर (करिब ८६ हजार रुपैयाँ) रहेको छ ।

हाल हाई इन्ड फोनको रूपमा रहेको फोल्डेबल फोनमा इन्फिनिक्सले निकै कम मूल्य राखेर यसको बजारमा प्रवेश गरेको हो । यसले गर्दा केही कम पैसामा फोल्डेबल फोन प्रयोग गर्न खोजीरहेको प्रयोगकर्तामा इन्फिनिक्सको जेरो फ्लिपले राम्रै बजार लिने अपेक्षा गरिएको छ ।


 

पछिल्लो अध्यावधिक: असोज १३, २०८१ १०:५३