काठमाडौं । ट्राफिक प्रहरीले नयाँ प्रविधि प्रयोगमा ल्याएसँगै अब सवारी चालकले सवारी लाइसेन्स बोक्नुपर्ने बाध्यता हटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रममार्फत ट्राफिक उल्लङ्घन रेकर्ड सिस्टम (टीभीआरएस) अन्तर्गत ई-चलान (डिजिटल चिट) शुभारम्भ गरेसँगै यस्तो व्यवस्था लागू हुने भएको हो ।
अब ट्राफिक चेकजाँचका क्रममा चालकले नागरिक एपमा भएको आफ्नो सवारी लाइसेन्स देखाए स्वीकार हुने छ । यसका लागि चालकले नागरिक एपमा आफ्नो लाइसेन्स प्रविष्ट गर्नुपर्ने हुन्छ । त्यसपछि क्यूआर कोड सहितको डिजिटल लाइसेन्स एपमा देखिन्छ । जसलाई ट्राफिक प्रहरीले स्क्यान गरेर जाँच गर्नसक्ने छन् ।
त्यस्तै कुनै ट्राफिक नियमा उल्लङ्घन भए प्रहरीले नागरिक एपमार्फत नै कारबाही समेत गर्न सक्छन् । त्यसबारे चालकले आफ्नो नागरिक एपमार्फत जानकारी प्राप्त गर्न सक्नेछन् । तर, चालकले तिर्नुपर्ने जरिवाना वा सचेतना कक्षा नलिएसम्म एपमा नोटिफिकेसन आइरहने बताइएको छ ।
यस व्यवस्थाले भौतिक लाइसेन्स बोकेर यात्रामा निस्कनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । तर, सुरुमा यो व्यवस्था बागमती प्रदेशमा मात्र लागु हुनेछ ।