काठमाडौं । भारतमा आईफोन १७ उत्पादनको प्रक्रिया अघि बढेको छ । एप्पलको निर्माण साझेदार फक्सकनले भारतस्थित बेंगलुरुमा रहेको कारखानामा आईफोन १७ को बेस (आधारभूत) मोडेल उत्पादन गर्ने प्रक्रिया थालेको हो ।
यसलाई एप्पलका लागि भारतमा निर्माण प्रयासको एउटा ‘उल्लेखनीय उपलब्धि’ मानिएको छ । यसअघि यस्तो स्तरको उत्पादन प्रक्रिया मुख्यतया चीनमा हुँदै आएको थियो । एप्पलले आफ्नो उत्पादन प्रक्रियालाई विविधीकरण गर्ने र चीनमाथिको निर्भरता कम गर्ने उद्देश्यले यो कदम चालेको बताइएको छ । भारतको बढ्दो उत्पादन क्षमता र ठूलो उपभोक्ता बजारलाई मध्यनजर गर्दै एप्पलले यहाँ लगानी बढाइरहेको छ ।
म्याक र्युमर्सका अनुसार आईफोन १७ मोडलले यसअघि नै प्रारम्भिक विकास चरण पार गरिसकेको छ । यसअन्तर्गत भारतीय इन्जिनियरहरूले क्यालिफोर्नियामा तयार भएका प्रोटोटाइपसँग मिल्ने गुणस्तरको आईफोन बनाउन सक्छन् कि भनेर मूल्याङ्कन भइरहेको छ ।
आईफोन १७ मा हुने विशेषताबारे हालसम्म आधिकारिक जानकारी आएको छैन । एप्पल सप्लाई चेन एनालिस्ट जेफ पूले केही सम्भावित विशेषता अनुमान गरेका छन् ।
उनका अनुसार यो बेस मोडेलमा ६.१ इन्चको डिस्प्ले, ए१९ चिप, ८ जीबी र्याम, अगाडिपट्टि २४ मेगापिक्सल क्यामेरा, पछाडि ४८ मेगापिक्सल फ्युजन र १२ मेगापिक्सल अल्ट्रा वाइडका क्यामेरा र आल्मुनियम केससहित आईफोन १७ मा उत्पादन हुनसक्छ । यी विशेषतालाई आधार मान्ने हो भने आईफोन १७ को बेस मोडेल आईफोन १६ भन्दा धेरै फरक हुने छैन ।
अल्ट्रा थिन आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सका मुख्य निर्माण स्थान भने चीनमै रहनेछ । अल्ट्रा थिन आईफोन १७ मा ४८ मेगापिक्सलको एउटा रियर क्यामेरा र ८ जीबी र्याम जस्ता विशेषता रहने अनुमान छ । त्यस्तै आईफोन १७ प्रो मोडेलहरूमा ४८ मेगापिक्सल टेलिफोटो क्यामेरा र १२ जीबी र्याम हुनेछ ।
आईफोन १७ सिरिज अर्को वर्षको सेप्टेम्बरमा सार्वजनिक हुने सम्भावना छ ।