close

च्याटजीपीटीले २ अर्ब बढी तिरेर किन्यो ‘च्याट डटकम’ डोमेन

टेकपाना टेकपाना

कात्तिक २२, २०८१ १३:१९

च्याटजीपीटीले २ अर्ब बढी तिरेर किन्यो ‘च्याट डटकम’ डोमेन

काठमाडौं । बुधवार सामाजिक सञ्जाल एक्समा ओपनएआईका प्रमुख कार्यकारी (सीईओ) साम अल्टम्यानले एउटा यूआरएल (chat.com) पोस्ट गरे ।  

पहिले यस डोमेन हबस्पटका संस्थापक धर्मेश शाहको स्वामित्वमा थियो । सन् २०२३ को सुरुमा शाहले यो डोमेन एक करोड ५५ लाख डलर (आजको विनिमय दरअनुसार दुई अर्ब आठ करोड ४७ लाख रुपैयाँ) मा किनेका थिए ।

यो कुरा उनले हालैको एक्स पोस्टमा उल्लेख गरेका छन् ।

तर केही महिनापछि नै शाहले सो डोमेन बिक्री गरेको जनाए ।  बिक्रीको जानकारी र खरिदकर्ताको नाम भने खुलाएका थिएनन् ।

अहिले भने अल्टम्यानको उक्त पोस्ट रिपोस्ट गर्दै शाहले ओपनआईलाई च्याट डटकम डोमेन बेचेको खुलासा गरेका छन् । यसअघि त्यति धेरै खर्च गरेर डोमेन किन्नुको कारण पनि उनले लेखेका छन् ।

“च्याटमा आधारित सफ्टवेयरमा अर्को ठूलो कुरा बन्ने छ भन्ने मलाई कताकता लागेको थियो । यही कारण मैले डोमेन किनेको थिएँ,” उनले लिङ्क्डइनमा लेखेका छन् ।

अहिले शाहले च्याट डटकम डोमेन बेचेबापत रकमको साटो ओपनआईको केही प्रतिशत शेयर लिएका छन्, जुन आफूले किनेको डोमेनको मूल्यभन्दा बढी रहेको बताइएको छ ।

योसँगै अब chat.com बाटै च्याटजीपीटी चलाउन सकिने छ ।

कुनै कम्पनीले कसैबाट डोमेन किनेको यो पहिलो घटना होइन । डोमेन किनबेच गर्ने चलन इन्टरनेटको सुरुवातदेखि नै चल्दै आएको छ । केही महिनाअघि मात्रै ‘फ्रेन्ड’ नामक एआई स्टार्टअपले साढे २० लाख डलरको लगानी उठाएपछि friend.com डोमेन किन्न १८ लाख डलर खर्च गरेको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८१ १३:५८