काठमाडौं । आईफोनको नयाँ अपरेटिङ सिस्टम आईओएस १८ मा थपिएको नयाँ सुरक्षा विशेषताले प्रहरी अनुसन्धानमा केही समस्या देखिएको छ । फरेन्सिक जाँचका लागि प्रहरीको नियन्त्रणमा रहेका आईफोन स्वतः रिबुट हुने गर्नाले अनुसन्धानमा समस्या देखिएको हो ।
प्रहरीले फोनमा हुने डेटाको जाँच गर्न ‘cellebrite’ जस्ता टुल प्रयोग गर्ने छन् । यस्ता टुल आफ्टर फर्स्ट अनलक (एएफयू) अवस्थामा रहेका फोनहरूमा मात्र प्रभावकारी हुन्छन् । तर फोन रिबुट भएपछि बिफोर फर्स्ट अनलक (बीएफयू) अवस्थामा जान्छ । यसले फोनको डेटामा पहुँच गर्न कठिन बनाउँछ । यहीकारण नियन्त्रणमा रहेका आईफोनमा अनुसन्धानमा गर्न प्रहरीलाई समस्या परेको ४०४ मिडियाले उल्लेख गरेको छ ।
अहिले त्यसको कारण पनि पत्ता लागिसकेको छ । सुरुमा प्रहरीले एयरप्लेन मोडमा रहेका फोनले नजिकैका अन्य आईफोनसँग सम्पर्क गरी रिबुट सिग्नल पठाउने गरेको आशंका गरेका थिए । तर पछि गरिएको अनुसन्धानले आईओएस १८ मा थपिएको ‘इनएक्टिभ रिबुट’ नामक नयाँ फिचरले यस्तो भइरहेको पत्ता लागेको हो । यस फिचरले फोन लक भएको चार दिनपछि स्वतः रिबुट हुने गर्छ ।
विशेषज्ञहरूका अनुसार आईओएस १८ को यो फिचरले चोरी भएका आईफोनको दुरुपयोग रोक्न सहयोग गर्छ । तर यही फिचरले प्रहरी अनुसन्धानमा भने चुनौती थपेको हो । तर अब विकल्प के हुने भन्नेबारे चर्चा गरिएको छैन ।