close

एनभिदिया र सफ्टबैंकले गरे विश्वकै पहिलो एआईसहितको फाइभजी टेलिकम नेटवर्कको परीक्षण

टेकपाना टेकपाना

कात्तिक २८, २०८१ ११:१२

एनभिदिया र सफ्टबैंकले गरे विश्वकै पहिलो एआईसहितको फाइभजी टेलिकम नेटवर्कको परीक्षण

काठमाडौं । विश्वकै प्रमुख मध्येको एक चिप निर्माता कम्पनी एनभिदिया र सफ्टबैंक ग्रुप अन्तर्गतको दूरसञ्चार फर्म सफ्टबैंक कर्पले विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा फाइभजी नेटवर्कको पाइलट परीक्षण पुरा गरेका छन् । दुवै कम्पनीले बुधबार यस बारेमा जानकारी दिएका हुन् ।

कम्पनीहरूले भने अनुसार, उक्त नेटवर्कले एआई र फाइभजी वर्कलोड ( कार्यभार) लाई एकसाथ सञ्चालन गर्न सक्छ, जसलाई आर्टिफिसियल इन्टेलिजेन्स रेडियो एक्सेस नेटवर्क (AI-RAN) नाम दिइएको छ । यो नेटवर्कको प्रयोग स्वचालित सवारी साधनहरूको रिमोट सपोर्ट र रोबोटिक्स नियन्त्रणमा गर्न सकिने बताइएको छ ।

"यो नयाँ तरङ्गलाई अन्य सबै टेलिकम कम्पनीहरूले अनुसरण गर्नुपर्नेछ," सफ्टबैंक ग्रुपका सीईओ मासायोसी सनले एनभिदियाका सीईओ जेनसन हुवाङसमेत सम्मिलित एआई सम्बन्धी एक कार्यक्रममा भनेका छन् । हुवाङका अनुसार एनभिदियाको नयाँ ब्ल्याकवेल चिप डिजाइन प्राप्त गर्नेमा सफ्टबैंक पहिलो थियो । जसलाई कम्पनीले आफ्नो जेनेरेटिभ एआई मोडल विकास गर्न तयार गर्दै गरेको एआई सुपर कम्प्युटरमा समावेश गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८१ ११:१२