काठमाडौं । चीनको झेइजियाङस्थित नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द भएको छ । नेटा ब्राण्डका ईभी उत्पादन गर्ने कम्पनी होजोन अटोले आर्थिक कठिनाइ झेलिरहेका कारण कारखाना बन्द गरेको हो । वार्षिक रूपमा दुई लाख युनिट ईभी उत्पादन गर्ने यो कारखानामा मुख्य रूपमा नेटा एल क्रसओभर मोडेल बनाइन्छ ।
रिपोर्ट अनुसार कम्पनीले ७० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने योजना बनाएको छ । नोभेम्बर ७ बाट भारी मात्रामा कर्मचारी कटौती सुरु भएको टेक इन एसिया मिडियाले जनाएको छ । साथै, आपूर्तिकर्ता कम्पनी एफोर्टले नेटा कम्पनीसँग ६ .७ मिलियन अमेरिकी डलर बाँकी रहेको भन्दै मुद्दा दायर गरेको छ, जसले नेटा ईभीलाई थप आर्थिक संकटमा पारेको छ ।
सन् २०१८ मा स्थापना भएको नेटा ब्राण्डले सस्तो मूल्यमा ईभी उत्पादन गर्दै प्रमुख ईभी निर्माताको सूचीमा छिट्टै स्थान पाएको थियो । २०२२ मा नेटा ब्राण्डले एक लाख ५० हजार युनिट सस्तो मूल्यका ईभी उत्पादन गरेर प्रतिस्पर्धी कम्पनीहरूलाई पछि पारेको थियो । सस्तो ईभी सेगमेन्टमा सफलता पाएपछि कम्पनीले नेटा भी टु, नेटा एक्स, नेटा जीटी र नेटा एस जस्ता महंगा मोडलहरू बजारमा ल्यायो । तर, महंगा मोडल उत्पादनसँगै कम्पनीको आर्थिक संकट सुरु भएको बताइन्छ ।
सन् २०२४ को सेप्टेम्बरसम्म नेटा कम्पनीले ५३ हजार ८५३ युनिट ईभी मात्र बिक्री गरेको छ, जुन वार्षिक लक्ष्यको ३० प्रतिशतभन्दा कम हो । गत अक्टोबरमा कम्पनीले पाँच हजारभन्दा कम युनिट गाडी आपूर्ति गरेको रिपोर्टमा उल्लेख छ, जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो ।
होजोन अटोले पछिल्ला तीन वर्षमा क्रमशः ६७ करोड , ९३ करोड, र ९६ करोड अमेरिकी डलर बराबरको खुद घाटा बेहोरेको छ । हाल कम्पनीको नगद कोषमा ३९ करोड ५० लाख अमेरिकी डलर मात्र बाँकी छ । यसका साथै, नेटा ब्राण्डले गत जुनमा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत हुने आवेदन दिए पनि सो प्रक्रिया अझै टुङ्गिएको छैन ।
नेपालमा पनि लोकप्रिय बन्न थालेको नेटा ब्राण्डले यस्ता आर्थिक संकटहरूलाई कसरी व्यवस्थापन गर्छ भन्ने प्रतीक्षा गर्न बाँकी छ ।