काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का आठ टिममध्ये सुदूरपश्चिम रोयल्स अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचारमा लागेको छ । टिमको जर्सी पछाडि नेपालमा अवैध रहेको अनलाइन जुवाको प्लेटफर्म ‘बाबु ८८ स्पोर्ट’ को प्रचार भइरहेको पाइएको हो ।
‘बाबु ८८ स्पोर्ट्स’को पृष्ठभूमि पूर्ण रूपमा बेटिङसँग सम्बन्धित भएको देखिन्छ । गुगलमा ‘Babu 88’, ‘Babu 88 sports’ जस्ता कीवर्ड सर्च गर्दा बेटिङ साइट नै शीर्ष स्थानमा आउँछन् । यस प्लेटफर्मको वेबसाइट हेर्दा यो बङ्गलादेशबाट सञ्चालन भएको देखिन्छ । तर, यसमा नेपाल र भारतका भाषा र भुक्तानीका विकल्पहरू पनि समावेश छन् ।
नेपाली क्षेत्र छान्ने हो भने यसमा सजिलै अकाउन्ट बनाउन सकिन्छ । यतिसम्म कि यस प्लेटफर्मले सपोर्ट सेन्टरमा पनि नेपाली नै राखेको छ । यो प्लेटफर्म प्रयोगकर्ताले विभिन्न बैंक खातामा रकम जम्मा गर्न सकिने देखिन्छ ।
खासगरी लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक, सिटिजन्स बैंक र ग्लोबल आईएमई बैंकको लोगो नै होमपेजमा राखिएको छ । रोचक कुरा त के छ भने यसमा प्रयोग भएका जति पनि बैंक अकाउन्ट छन्, ती सबै व्यक्तिको नाममा नभई व्यवसायहरूको नाममा छ । टेकपाना हेर्दा यसमा ‘किरण किराना पसल एन्ड कोल्ड सेन्टर’, ‘नवीन ग्यास स्टोर’ लगायतका पसलहरूको नाम छ ।
यसको फुटरमा हेर्ने हो भने कनेक्ट आईपीएस, खल्ती, ईसेवा आदिको लोगो राखिएको छ । यसलाई दक्षिण एसियाकै सबैभन्दा विश्वासिलो अनलाइन क्यासिनो भन्दै प्रचार गरिएको छ ।
फुटरको अन्तिममा ‘बाबु ८८’ नेपालको प्रिमियर अनलाइन क्यासिनो हो भनिएको छ । यतिसम्म कि यसले नेपालमा उत्कृष्ट बेटिङको अनुभव दिने पनि उल्लेख गरिएको छ ।
सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने बाबु ८८ स्पोर्ट्सले आफूलाई कुन प्लेटफर्मका रूपमा चिनाएको छ भन्ने कहीँ पनि स्पष्ट छैन ।
सेरोगेट विज्ञापनका रूपमा यो प्लेटफर्म सुदूरपश्चिम रोयल्समा जोडिएको हो भन्ने देखिंदैन । अर्थात् सरासर हेर्दा बाबु ८८ खुला रूपमा अनलाइन क्यासिनो प्लेटफर्मकै रूपमा सुदूरपश्चिम रोयल्समा जोडिएको देखिन्छ ।
बाबु ८८ सँगको प्रायोजन सम्झौताबारे सुदूरपश्चिम रोयल्सले आधिकारिक रूपमा कतै खुलाएको छैन ।