close

स्टिम सिकाइ सामग्री निर्माण सम्बन्धी प्रतिस्पर्धा गर्दै सरकार, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

मंसिर २९, २०८१ १०:५२

स्टिम सिकाइ सामग्री निर्माण सम्बन्धी प्रतिस्पर्धा गर्दै सरकार, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । सरकारले विश्वविद्यालयका विद्यार्थीहरूबीच विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) विषयको सिकाइ सामग्री निर्माण गर्न प्रतिस्पर्धा गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विश्वविद्यालय, आङ्गिक क्याम्पस, सम्बन्धनप्राप्त कलेज वा महाविद्यालयका विद्यार्थीहरूको सहभागितामा यो कार्यक्रम गर्न लागेको हो ।

प्रतिस्पर्धाको विषय ‘विद्यालय तह (कक्षा ४-१०) मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सिकाइ सामग्री निर्माण’ रहेको छ । प्रतिस्पर्धा दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा विद्यार्थी वा समूहबाट निवेदन माग गरिनेछ भने दोस्रो चरणमा छनोट भएका समूहलाई सामग्री निर्माण गर्न चार महिना समय दिइनेछ ।

निर्माणका लागि प्रत्येक समूहलाई अधिकतम ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । निर्माण सम्पन्न भएपछि सामग्री प्रदर्शनीमा राखिनेछ, जहाँ मूल्याङ्कनकर्ताले अंक प्रदान गर्नेछन् । प्रदर्शनीको मूल्याङ्कनका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिस्पर्धामा सहभागी हुन अघिल्ला वर्षहरूमा बनाइएका सामग्री पुनः प्रस्तुत गर्न पाइनेछैन । हरेक समूहमा तीन विद्यार्थी र एक मेन्टर अनिवार्य रहनुपर्नेछ ।

विद्यार्थीहरूले सूचना प्रकाशित भएको ३० दिनभित्र स्टिम विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ को अनुसूची-२ अनुसार निवेदन पठाउनु पर्नेछ । आवेदन [email protected] मा ईमेलमार्फत पठाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८१ १०:५९