close

मार्क जुकरबर्गले लगाउँछन् ७ करोड मूल्य पर्ने दुर्लभ घडी

टेकपाना टेकपाना

मंसिर ३०, २०८१ १४:११

मार्क जुकरबर्गले लगाउँछन् ७ करोड मूल्य पर्ने दुर्लभ घडी

काठमाडौं । अहिले सामाजिक सञ्जालमा मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको विलासी घडी चर्चामा छ । सामाजिक सञ्जालमा एआई मोडलबारे अपडेट दिन सार्वजनिक गरेको भिडिओमा जुकरबर्गले पातलो घडी लगाएका थिए । 

लगत्तै धेरैले कमेन्ट बक्सदेखि आफैंले भिडिओ बनाएर समेत उनको पातलो घडीबारे प्रतिक्रिया दिइरहेका छन् । खासमा उनको घडी धेरै कारणबाट चर्चायोग्य बनेको छ । त्यसमध्ये एक त उनले लगाएको यो घडी आफैंमा अत्यन्त दुर्लभ छ । 

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनले लगाएको घडी बुल्गारी अक्टो फिनिसिमो अल्ट्रा हो । यो विश्वकै सबैभन्दा पातलो मेकानिकल घडी हो । यसको मोटाइ जम्मा १.७ मिलिमिटर रहेको छ । जुन दुई ओटा एटीएम कार्डको मोटाइ बराबरको हो ।

अझ त्यसभन्दा पनि यो घडीको मूल्य चकित पार्ने खालको छ । बताइएअनुसार यस घडीलाई पाँच लाख ९० हजार डलर (सात करोड रुपैयाँ बढी) पर्छ । त्यसमाथि यो घडी केवल २० युनिट मात्र उत्पादन गरिएको छ ।  

यसकारण पनि दुर्लभ रहेको यो घडीको केसभित्र १७० अलग-अलग कम्पोनेन्टहरू राखिएका छन् । जुन आफैंमा अत्यन्त जटिल काम हो । यसले घडीको उत्कृष्ट इन्जिनियरिङलाई पनि पुष्टि गरेको छ । सँगै यस घडीलाई सबैभन्दा सटीक मध्येको एक भएको बताइएको छ । यसबाट दैनिक ०.२ सेकेन्ड मात्र तलमाथि हुने गरेको छ ।

यस घडीको मुख्य प्लेट टङ्गस्टन कार्बाइड (tungsten carbide)बाट बनेको छ भने ब्रेसलेट, लग्स र बेजल टाइटानियमबाट बनाइएको छ । सँगै यो घडीलाई स्विस अफिसियल क्रोनोमिटर टेस्टिङ इन्स्टिच्युट (सीओएसटू) बाट प्रमाणित ‍गरिएको छ । 

यसअघि पनि जुकरबर्ग अर्को दुर्लभ घडी लगाएर सार्वजनिक रूपमा देखिएका थिए । त्यसबेला उनले सान फ्रान्सिस्कोस्थित चेस सेन्टरमा आयोजित ‘अक्वायर्ड’ कार्यक्रममा डि बेथुन डीपी२५ स्टारी भेरियस एरोलाइट नामक घडी लगाएका थिए । सो घडीको मूल्य पनि दुई लाख ६० हजार डलर (साढे तीन करोड रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८१ १४:२१