काठमाडौं । विद्यार्थीहरूलाई अनलाइनबाटै पढ्न सजिलो बनाउने उद्देश्य सहित सञ्चालनमा आएको लर्निङ पोर्टल डाउन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पहलमा खोलिएको यस पोर्टल एक हप्तादेखि नचलेको पाइएको हो ।
अहिले वेबसाइट खोल्दा "Your connection is not private" भन्ने सन्देश देखिन्छ । साथै, एड्रेसबारमा "Not Secure" भन्ने सन्देश पनि देखिन्छ ।
साइबर सुरक्षा विशेषज्ञका अनुसार वेबसाइटको सेक्युर सकेट लेयर (एसएसएल) सर्टिफिकेट एक्सपायर भएका कारण यस्तो समस्या आएको हो । एसएसएल सर्टिफिकेटले प्रयोगकर्ता र वेबसाइटको डेटालाई इन्क्रिप्सनमार्फत सुरक्षित गर्ने काम गर्छ । तर, केन्द्रले समयमै एसएसएल सर्टिफिकेट रिन्यु नगरेका कारण विद्यार्थीहरू सिकाइ सामग्रीबाट बञ्चित हुनुपर्ने स्थिति आएको छ ।
अंग्रेजी र नेपाली दुवै भाषामा सञ्चालन गर्न सकिने यस पोर्टलमा भिडिओ सामग्री, पुस्तक, खेल सामग्री लगायतका विविध शैक्षिक सामग्री उपलब्ध छन् । यसका अतिरिक्त, विभिन्न शैक्षिक कथा, अभ्यास पुस्तिका, पाठ्यक्रम, लाइब्रेरी, डिक्सनरी, विभिन्न खेल र क्यालकुलेटर पनि उपलब्ध छन् ।