काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्रामका एआई अकाउन्ट हटाउन थालेको छ । एआई अकाउन्टले प्रयोगकर्तासँग अन्तरक्रिया गर्न थालेपछि ती कुराकानीका स्क्रिनशट भाइरल भएका थिए, जसले समस्यामा पारेको भन्दै त्यस्ता प्रोफाइल हटाउन सुरु गरिएको हो ।
मेटाले यो फिचर सन् २०२३ मा सुरु गरेको थियो । फेसबुक र इन्स्टाग्राममा मान्छेले राखेका पोस्टमा एआईले अन्तर्क्रिया गरोस् भन्ने हिसाबले यस्तो फिचर सुरु गरिएको थियो । तर, परीक्षणकै चरणमा भएकाले यो सबै प्रयोगकर्तामाझ उपलब्ध थिएन ।
एआईले तयार पारेका प्रोफाइलहरूले प्रयोगकर्तासँग वास्तविक समयमा म्यासेजमा रिप्लाई र अन्तरक्रिया गर्न सक्थे । ती प्रोफाइलमा एआईले तयार पारेका तस्बिर र टेक्स्ट मेसेजका रूपमा प्रतिक्रिया दिने व्यवस्था थियो ।
यी अकाउन्टले प्रायः प्रयोगकर्तालाई उनीहरूले मानवीय चरित्रसँग कुरा गरिरहेको अनुभूति गराउने कम्पनीको भनाइ छ । मेटाले एआईले तयार पारेका यी प्रोफाइल सामाजिक सञ्जाललाई अझ आकर्षक बनाउने एउटा प्रयोगको रूपमा ल्याएको थियो । यस प्रयोगलाई अन्तिम उत्पादनको रूपमा प्रस्तुत गर्ने निर्णय भने कहिल्यै भएको थिएन ।
सुरुवाती चरणमा कम्पनीले एआई अकाउन्टलाई दैनिक रूपमा मान्छेसँग अन्तरक्रिया गर्न सकून् भन्ने उद्देश्य राखेको थियो । जसले प्रयोगकर्तालाई सल्लाह दिने र अन्य सिर्जनात्मक उपाय दिने गरी डिजाइन गरिएको थियो ।
मेटाका लागि यो केवल एउटा प्रयोगमात्र थियो । तर, एआई टुलहरू चर्चाका विषय बनिरहँदा मेटाले अहिले यसलाई किन बन्द गर्न थाल्यो त ? फाइनान्सियल टाइम्सलाई मेटाको जेनेरेटिभ एआईका उपाध्यक्ष कोनर हाइसले अन्तर्वार्ता दिने क्रममा एआई अकाउन्टले प्रयोगकर्तासँग अल्पसङ्ख्यक समयदायका लागि आपत्ति हुने संवाद गर्न थालेको खुलाएका छन् । त्यस्तोमा सामाजिक सञ्जालमा मेटाका प्लेटफर्म बहिष्कार गर्ने लहर चल्न थाल्यो । जसले गर्दा मेटा उक्त प्रयोगलाई मूर्त रूप दिन नसक्ने अवस्थामा पुग्यो । र, बन्द गर्ने निर्णयमा पुग्यो ।
यता अन्य प्रयोगकर्ताले पनि एआईले तयार पारेका प्रोफाइलसँगका कुराकानीको स्क्रिनशट शेयर गर्न थालेका थिए । ती स्क्रिनसट भाइरल भए र धेरैले ध्यान दिए । विशेषगरी लिभ नामक एक एआई अकाउन्टको कुराकानीले धेरैको ध्यान खिचेको छ । लिभले आफूलाई दुई सन्तानकी गर्विला ब्ल्याक क्वोयर आमाका रूपमा वर्णन गरेको थियो । कुराकानीकै क्रममा एआई टुलले आफूलाई डेभलप गर्ने टोलीमा अधिकांश गोरा पुरुष मात्र रहेको खुलासा गरेको थियो । यसले चरित्रको पहिचानप्रति असंवेदनशील भएको भन्दै आलोचना निम्त्याएको छ ।
यो प्रतिक्रियाले एआई प्रोफाइलको डिजाइनमा विविधता र प्रामाणिकताको विषयमा गहिरो चिन्ता उब्जाएको छ । साथै प्रयोगकर्ताले यी एआई प्रोफाइललाई ब्लक गर्न नसकिने समस्या पनि सुनाएका थिए । तर, यसलाई मेटाले ‘प्राविधिक त्रुटि’ (bug) भनेर व्याख्या गरेको छ । यी समस्या समाधान गर्न र थप जटिलताबाट बच्न ती प्रोफाइल पूर्ण रूपमा हटाउने निर्णयमा कम्पनी पुगेको छ ।