close

फेसबुकमा इन्टर्नका रूपमा काम गर्थे टिकटकका सीईओ, अहिले बने मेटाकै कडा प्रतिद्वन्द्वी

टेकपाना टेकपाना

माघ ४, २०८१ १८:५७

फेसबुकमा इन्टर्नका रूपमा काम गर्थे टिकटकका सीईओ, अहिले बने मेटाकै कडा प्रतिद्वन्द्वी

काठमाडौं । मार्क जुकरबर्गका लागि अहिले टिकटक सबैभन्दा ठूलो प्रतिस्पर्धीका रूपमा उदाएको छ । त्यही टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् शाउ जी च्यु । अर्थात् च्यु नै जुकरबर्गका सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन् भन्दा फरक पर्दैन । तर आफ्नो करिअरको सुरुवातमा उनले फेसबुकमा जुकरबर्गका लागि इन्टर्नका रूपमा काम गरेका थिए ।

 

सिङ्गापुरका यी नागरिकले युनिभर्सिटी कलेज लन्डनबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका थिए । र त्यसपछि हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरे । यो सन् २०१० तिरको कुरा हो । त्यस बखत उक्त क्षेत्रमा उदाउँदै गरेको कम्पनीमा इन्टर्न गरे । त्यस कम्पनीको नाम थियो ‘फेसबुक इङ्क’ ।

“त्यो गर्मीमा म पनि एउटा स्टार्टअपमा काम गर्दै थिएँ,” च्युले हाँस्दै हार्वर्ड बिजनेस स्कुलको एलुम्नाइ वेबसाइटसँगको कुराकानीमा भने, “यसको नाम फेसबुक थियो ।”

क्यालिफोर्नियामा फेसबुकमा आफ्नो प्राविधिक करिअर सुरु गरेलगत्तै उनी विदेश गए । र लन्डन, सिंगापुर र हङकङमा बसेर त्यतै काम गरे । र, अन्ततः उनी चीनको बेइजिङ पुगे । च्यु सन् २०१५ मा चिनियाँ प्राविधिक कम्पनी साओमीमा आबद्ध भए । एलुम्नाइका अनुसार आबद्ध भएको तीन वर्षपछि उक्त कम्पनीलाई पब्लिक कम्पनी बनाउन उनले ठूलो भूमिका खेले । त्यतिबेला उनी साओमीमा प्रमुख वित्तीय अधिकारीको रूपमा काम गरिरहेका थिए ।

त्यसपछि सन् २०२१ मा च्युको करिअर मेटाका सीईओ जुकरबर्गसँग प्रतिस्पर्धीका रूपमा जोडिन पुग्यो । च्यु सन् २०२१ मा टिकटकको मूल कम्पनी बाइटडान्समा प्रमुख वित्तीय अधिकारीको रूपमा आबद्ध भए । त्यसै वर्षको पछिल्ला दिनमा उनी टिकटकको सीईओ बने । र बाइटडान्समा प्रमुख वित्तीय अधिकारी र टिकटकमा सीईओ दुवै पदमा रहे । तर पछि शर्ट भिडियो प्लेटफर्ममा मात्र ध्यान केन्द्रित गर्न उनले सीईओको पदलाई निरन्तरता दिए ।

उनै च्यु संयुक्त राज्य अमेरिकामा मासिक १५ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता र विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको टिकटक हाँकिरहेका छन् । अहिले टिकटक मुख्य सामाजिक सञ्जाल सूचीको शीर्ष स्थानमा आउँछ । मार्क जुकरबर्गको नियन्त्रण नभएको शीर्ष स्थानमा देखिएको यो दुर्लभ प्लेटफर्म हो । तर जुकरबर्ग यसका मालिक नहुनुको मतलब यो होइन कि उनले यसलाई प्राप्त गर्ने कहिल्यै प्रयास गरेनन् । हुन त जुकरबर्ग आफ्ना प्रतिद्वन्द्वी खरिद गर्न नसके त्यस्तै प्लेटफर्म तयार पार्ने व्यक्तिका रूपमा चिनिन्छन् ।

बजफिड न्यूजका अनुसार जुकरबर्गले सन् २०१६ मा लिप सिङ्किङ एप म्युजिकल्ली प्राप्त गर्न प्रयास गरेका थिए । म्युजिकल्ली नै कालान्तरमा टिकटक बन्यो । तैपनि, जुकरबर्गले बाइटडान्ससँग हार माने । बाइटडान्सले सन् २०१७ मा ८० करोड डलरमा उक्त एप खरिद गर्‍यो । बाइटडान्सले म्युजिकल्लीलाई पहिले नै अवस्थित टिकटक प्लेटफर्ममा मर्ज गर्‍यो र फलस्वरूप सामाजिक सञ्जालको मैदानमा टिकटक फेसबुकको चिरप्रतिद्वन्द्वीका रूपमा उदायो ।

जुकरबर्ग यसरी नै हार मान्ने पक्षमा थिएनन् । खरिद गरेर प्रतिद्वन्द्वीलाई मैदानबाट हटाउने अस्त्र विफल भएपछि उनले अर्को अस्त्र अर्थात् उस्तै एप बनाउने सङ्कल्प लिए । र, फेसबुक इङ्कबाट मेटा भइसकेको मार्क जुकरबर्गको कम्पनीले सन् २०१८ मा टिकटकको प्रतिस्पर्धीका रूपमा ‘लासो’ नामक एप सुरु गर्‍यो । तर यो कहिल्यै सफल हुन सकेन । मेटाले सन् २०२० मा उक्त नक्कली एप बन्द गर्‍यो । र, पछिल्ला केही वर्षदेखि आफ्ना प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा शर्ट भिडिओ शेयर गर्ने फिचर अर्थात् रिल्स सुरुवात गर्‍यो ।

पछिल्ला केही वर्षहरूमा अमेरिकाबाट टिकटकलाई प्रतिबन्ध लगाउने प्रयास बढ्दै गएका छन् । त्यसैगरी जुकरबर्गले पनि यस एपको आलोचना गर्न थालेका छन् । जुकरबर्गले यसअघि टिकटकले सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा अभिव्यक्ति स्वतन्त्रतालाई खतरा पुर्‍याउन सक्ने बताएका थिए ।

सन् २०२० मा उनले एपमाथि प्रतिबन्ध लगाउनु गलत नजिर हुन सक्ने बताएका थिए तर राष्ट्रिय सुरक्षाको चिन्तामा आफू सहमत रहेको भन्दै बन्द गर्नु उचित रहेको तर्क दिएका थिए । बजफिड न्यूजका अनुसार जुकरबर्गले सन् २०२० मा एक आन्तरिक बैठकमा भनेका थिए, “मलाई लाग्छ कि एक एप जसले धेरै मानिसहरूको डेटा राख्छ र अर्को देशको नियम पालना गर्छ, त्यो सरकार जसलाई प्रतिस्पर्धीको रूपमा हेरिन्छ, त्यसबाट राष्ट्रिय सुरक्षामा प्रश्नहरू उठ्नु स्वाभाविक हो ।”

धेरै संसदीय सुनुवाइमा च्युले टिकटक राष्ट्रिय सुरक्षाको लागि खतरा हो भन्ने आरोपको बचाउ गर्दै आएका छन् । सन् २०२३ मा हाउस इनर्जी एन्ड कमर्स कमिटीको सुनुवाइमा च्युले फेसबुकको क्याम्ब्रिज एनालिटिका घोटालामाथि व्यङ्ग्य गर्दै टिकटकले अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्मभन्दा बढी डेटा सङ्कलन नगरेको बताए ।

उनले सुनुवाइका क्रममा भने, “मलाई लाग्दैन कि यो स्वामित्वको मुद्दा हो । अमेरिकी सामाजिक कम्पनीसँग डेटा गोपनीयता र प्रयोगकर्ता सुरक्षाको राम्रो इतिहास छैन ।”

पछिल्लो अध्यावधिक: माघ ४, २०८१ १८:५७