काठमाडौं । सातौं चरणको परीक्षणका क्रममा अर्बपति उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट विस्फोट भएको छ । बिहीबार परीक्षणका क्रममा स्टारशिप रकेटको माथिल्लो भाग (अपर स्टेज) विस्फोट भएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा इन्धन चुहावटका कारण यो विस्फोट भएको हुनसक्ने मस्कले बताएका छन् । ४०३ फिट अग्लो (१२३ मिटर) मेगा रकेट स्टारशिप हिजो दिउँसो दक्षिणी टेक्सासमा रहेको स्पेसएक्सको स्टारबेस साइटबाट प्रक्षेपण गरिएको थियो ।
यो स्टारशिपको सातौं परीक्षण उडान थियो । उडानको सुरुमा रकेट योजना अनुसार नै अघि बढेको थियो । रकेटका दुई भाग 'सुपर हेभी बुस्टर' र 'शिप अपर स्टेज' समयमै अलग भए । सुपर हेभी बुस्टर योजना अनुसार स्टारबेसमा फर्कियो । प्रक्षेपण टावरको ‘चपस्टिक’ हातहरूले यसलाई छैठौं परीक्षण जस्तै समात्यो । तर, शिपको हकमा भने समस्या देखियो ।
सुपर हेभी बुस्टर अलग भएको केही समयमै १७१ फिट अग्लो (५२ मिटर) यान एटलान्टिक महासागरमाथि करिब ८.५ मिनेटमा टुक्राटुक्रा भयो । टर्क्स र काइकोस टापुका मानिसहरूले यो दृश्य देखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
कम्पनीका संस्थापक तथा सीईओ मस्कका अनुसार प्रारम्भिक अनुसन्धानमा अक्सिजन र इन्धनको चुहावट भएको देखिएको छ । रकेटको इन्जिन फायरवाल माथिको भागमा चुहावट भएको र त्यसले गर्दा हावा निस्कने क्षमताभन्दा बढी दबाब सिर्जना भएको थियो ।
मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “चुहावटको दोहोरो जाँच गर्नुका साथै हामीले त्यो ठाउँमा आगो निभाउने उपकरण थप्नेछौं र हावा निस्कने ठाउँ पनि बढाउनेछौं । अहिलेसम्मको अवस्था हेर्दा अर्को प्रक्षेपण आउँदो महिनाभन्दा पर धकेल्नुपर्ने जस्तो देखिँदैन ।”
स्टारशिपको र्याप्टर इन्जिनमा तरल अक्सिजन र तरल मिथेन प्रयोग गरिन्छ । स्पेसएक्सले सन् २०२५ मा स्टारशिपलाई धेरै पटक उडाउने योजना बनाएको छ । कम्पनीले यस वर्ष स्टारबेसबाट २५ पटकसम्म रकेट प्रक्षेपण गर्न अनुमति मागेको छ । उक्त दबाबका कारण रकेटको पछिल्लो भागमा आगो लागेको र त्यसले गर्दा विस्फोट भएको स्पेसएक्सले जनाएको छ । कम्पनीले यो प्रारम्भिक विश्लेषण भएको र थप अनुसन्धान गरिने बताएको छ ।
स्पेसएक्सले अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) सँग समन्वय गरी थप अनुसन्धान गर्ने र भविष्यमा सुधार गर्ने प्रतिवद्धता दिएको छ । कम्पनीले स्टारशिप तोकिएको क्षेत्रभित्रै उडेको र यसको कुनै पनि टुक्रा जमिन, पानी वा आकाशमा मानिसलाई असर नपर्ने गरी खसेको जनाएको छ ।
यद्यपि यस घटनाका कारण केही समयका लागि हवाई उडानमा असर परेको थियो । एफएएले विमानलाई केही समयका लागि आकाशमा रकेटको भग्नावशेष खसेको क्षेत्रबाट टाढा राखेको थियो । तर, केही समयपछि विमान सेवा सामान्य भएको थियो ।