काठमाडौं । अमेरिकामा प्रतिबन्धबाट अस्थायी रूपमा हटेको लगभग एक हप्ता हुँदा पनि टिकटक एप एप्पल र गुगलको एप स्टोरहरूमा फर्किएको छैन । १९ जनवरीमा अमेरिकामा प्रतिबन्ध वा बिक्रीसम्बन्धी कानुन लागू भएपछि यो एप दुवै स्टोरबाट हटाइएको थियो । यस कानुनले अमेरिकाभित्र यो सेवा बन्द गरेको थियो ।
द भर्जका अनुसार अमेरिकामा टिकटक बन्द भएको करिब १४ घण्टाभित्रै पुनः सञ्चालनमा आएको थियो । तर, प्लेटफर्म सञ्चालनमा आएको झन्डै एक साता हुँदासम्म पनि यो एप मोबाइल स्टोरमा भने अहिलेसम्म फर्किएको छैन । एप्पल र गुगलले टिकटक उपलब्ध गराएमा अरबौं डलर जरिवाना तिर्नुपर्ने जोखिम छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्ध कार्यान्वयन नगर्ने कार्यकारी आदेशले यो जोखिम हटाउँछ कि हटाउँदैन भन्ने स्पष्ट छैन ।
एप्पल र गुगलले टिकटक कहिलेसम्म फर्किन्छ वा फेरि उपलब्ध हुन्छ कि हुँदैन भन्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । एप्पल र गुगलले टिकटक सहित बाइटडान्सका अन्य एपहरू जस्तै लेमन एट र मार्वल स्न्याप हटाएको बारेमा वक्तव्य जारी गरेका छन् । तर, त्यसपछि ती कम्पनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।
टिकटकले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर, मार्वल स्न्यापका डेभलपर सेकेन्ड डिनरले शुक्रबार साँझ एक्समा एक पोस्ट गर्दै भनेका छन्, “हाम्रो अनुमान अनुसार मार्वल स्न्याप कुनै बाधा नआएमा अर्को हप्ता एप स्टोरमा फर्कनेछ ।” सेकेन्ड डिनरका सह-संस्थापक बेन ब्रोडले अर्को महिनाको अपडेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै भनेका छन्, “हामी त्योभन्दा अघि नै यो एप स्टोरमा आउने आशा गर्छौं ।”
धेरै मानिसहरूले एप स्टोरबाट नै सफ्टवेयर पाउँछन् । त्यसैले उक्त माध्यममा टिकटक उपलब्ध नहुँदा अहिले नयाँ प्रयोगकर्ताले एप इन्स्टल गर्न पाइरहेका छैनन् । साथै पुराना प्रयोगकर्ताले पनि अपडेट पाएका छैनन् । यसको अर्थ नयाँ फिचर थप्न वा सुरक्षा कमजोरी लगायतका बग समाधान गर्न टिकटकले अपडेट पठाउन सकिरहेको छैन ।
प्रतिबन्ध लाग्नुअघि फोनमा टिकटक इन्स्टल भएका प्रयोगकर्ताको डिभाइसमा सो एप सामान्य तरिकाले चलिरहेको छ । तर, एप अनइन्स्टल गर्ने वा इन्स्टल नगर्ने प्रयोगकर्ता भने टिकटक प्रयोग गर्न पाइरहेका छैनन् । त्यसैले फेसबुक मार्केटप्लेस र ईबे जस्ता प्लेटफर्ममा टिकटक इन्स्टल भएका आईफोन करोडौं मूल्यमा बिक्रीका लागि राखिएका छन् । एप प्रयोग गर्न नपाएपछि केही प्रयोगकर्ताले वेब भर्सनबाटै टिकटक प्रयोग गरिरहेका छन् ।