close

आईफोन १७ मा कस्तो होला डाइनामिक आइल्याण्ड ?

टेकपाना टेकपाना

माघ १२, २०८१ १२:२७

आईफोन १७ मा कस्तो होला डाइनामिक आइल्याण्ड ?

 

काठमाडौं । एप्पलले २०२५ मा बजारमा ल्याउने आईफोन १७ मा डाइनामिक आइल्याण्डको आकारमा कुनै परिवर्तन नहुने भएको छ । एप्पलका विश्लेषक मिङ-ची कुओले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार आईफोन १७ को सम्पूर्ण लाइनअपमा डाइनामिक आइल्याण्डको आकार लगभग उस्तै रहने छ । यसअघि आईफोन १७ मा डाइनामिक आइल्याण्डको आकार सानो हुने हल्ला चलेको थियो ।

एप्पलका अर्का विश्लेषक जेफ पुले गत वर्ष आईफोन १७ प्रोमा फेस आईडीको लागि मेटलेन्स प्रयोग गरिने विश्लेषण गरेका थिए । यसले गर्दा डाइनामिक आइल्याण्ड साँघुरो हुने उनको अपेक्षा थियो । तर अहिले आएको जानकारीले एप्पलको उक्त योजना परिवर्तन भएको सङ्केत गरेको छ । एप्पलले सन् २०२२ मा पहिलो पटक आईफोनमा डाइनामिक आइल्याण्ड उपलब्ध गराएको थियो । र, त्यसपछि यसमा खासै परिवर्तन गरिएको छैन । 

एप्पलले डाइनामिक आइल्यान्डका लागि भविष्यमा अझ सानो कटआउट डिजाइन गर्ने योजना बनाएको भन्ने हल्ला लगातार आइरहेको छ । यस्तो भएको खण्डमा यसले स्क्रिनमा थप स्थान उपलब्ध गराउनेछ । तर, यो हार्डवेयर परिवर्तन गर्न एप्पल सक्षम हुन्छ वा हुँदैन भन्ने कुरा स्पष्ट छैन ।

आईफोन १७ सिरिजमा डाइनामिक आइल्याण्डको डिजाइनमा परिवर्तन नभए पनि एप्पलले अन्य डिजाइन परिवर्तन गर्ने योजना बनाएको छ । “आईफोन १७ एयर” नामक एकदमै पातलो फोन सार्वजनिक हुने अपेक्षा गरिएको छ । यो एप्पलको डिजाइनमा धेरै वर्षपछिको पहिलो ठूलो परिवर्तन हुनेछ । साथै आईफोन १७ एयर र आईफोन १७ प्रो मोडलहरूमा क्यामेरा सेटअप पनि गुगल पिक्सेल जस्तो तेर्सो हुने गरी पुन: डिजाइन गरिने हल्ला छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८१ १२:२७